मेचीनगर, १० भदाै । विश्व बैंककाे सहयाेगमा मेचीनगर नगरपालिकाले बनाईरहेकाे सहिद मार्ग सडक खण्डकाे धुलाबारी बजार सिरानमा अलकत्र बनाउने ट्याङ्कर तातिएर आगलागी हुँदा निर्माण व्यवसायीका एक कर्मचारी घाइते भएका छन् ।
मेचीनगर-९ र १० काे सीमाना दुर्गा मन्दिर छेउमा सहिद मार्गका लागि ट्याङ्करमा राखिएकाे प्राइम (अलकत्र बनाउने बाक्लाे तरल पदार्थ ) तताउने क्रममा आगलागी भएको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।
उनले अलकत्र अघि पिचमा हालिने प्राइम तताउने क्रममा ट्याङ्कर तातिएर आगलागि भएको बताए ।
दिउँसो भिडभाड हुने भएकााले राति मात्र पिचमा प्राइम हालेर अलकत्रले पेल्ने गरिएको उनकाे भनाई छ ।
साेमबार राति ८ वजे सडककाे ठेक्का लिएकाे कञ्चन निर्माण सेवाकाे मे १ ख ३१३७ नम्बरको ट्याङ्करमा प्राइम तताउँदा आगो बल्न थालेपछि ट्याङ्करका कामदार सिरहा लक्ष्मीपुर-६ का ३१ वर्षीय उमेशकुमार रायकाे आगो निभाउने क्रममा अनुहार, दुवै हात र खुट्टा रापले पाेली घाइते भएका थिए ।
उनकाे बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
चालक सिन्धुली सुनकाेशी-७ का ४२ वर्षीय गणेश दाहाललाई भने केही भएको छैन । उनी सकुशल रहेका छन् ।
मेचीनगरकाे दमकल, सुरक्षाकर्मी र स्थानीयकाे प्रयासले करिव एक घण्टामा आगो नियन्त्रणमा आएको थियोे ।




Discussion about this post