झापा, १९ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका फेसबुकसहितका सामाजिक सञ्जाल विहीबारैबाट बन्द गर्ने निर्णय गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा विहीबार मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो । त्यसलाई बेवास्ता गरेपछि मन्त्रालयले विहीबारबाट सामाजिक सन्जाल चल्न नमिल्ने बनाएको हो ।
‘सूचीकरण नभएका सामाजिक सञ्जालहरु आजबाट क्रमशः बन्दको निर्णय लागू हुन्छ,’ सञ्चारमन्त्री गुरूङले भने । उनका अनुसार अब सूचीकरणमा आउने सामाजिक सञ्जाललाई दर्ता गरेर मात्रै खुल्नेछ । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएको छ ।
हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइभ गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् । टेलिग्राम र ग्लोबल लिंक दर्ताको प्रक्रियामा छन् । अरु बाँकी सबै सामाजिक सञ्जालहरू बन्द हुनेछन् ।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढेकाले नियमन गर्न भन्दै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको पालामा सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका २०८० तयार पारेको थियो । त्यसलाई २०८० साल कात्तिक २३ गतेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।
सो निर्देशिकामा नेपालमा सञ्चालन भएका सामाजिक सञ्जाल प्लेटफर्मलाई तीन महिनाभित्र सूचीकृत भएर अनुमतिपत्र लिनुपर्ने व्यवस्था छ । ती प्लेटफार्महरुले हरेक तीन÷तीन वर्षमा अनुमतिपत्र नवीकरण पनि गर्नुपर्ने व्यवस्था छ ।
सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई जुनसुकै बखत बन्द गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ । साथै सामाजिक सञ्जाल प्लेटफार्म सूचीकरण र अनुमतिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा ‘सामाजिक सञ्जाल व्यवस्थापन इकाइ’ गठन गर्ने व्यवस्था छ ।
सोही अनुसार सरकारले २०८२ वैशाखमा सूचीकरण हुन भनेको थियो । तर अपेक्षाकृत सामाजिक सन्जालहरु दर्ता प्रक्रियामा नआएपछि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १२ भदौमा सूचना जारी गर्दै फेसबुक, युट्युब, इन्स्टाग्राम, ट्वीटर (एक्स), लिंक्डइन लगायतलाई दर्ता हुन आह्वान गरेको थियो । तर, बुधबार मध्यरातिसम्म पनि औपचारिक निवेदन नपरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरु बताउँछन् । हालसम्म टिकटक, भाइबर, निम्बुज, वीटक र ओपोलाइट गरी पाँच प्लेटफर्म सूचीकरण भइसकेका छन् ।
२६ वटा सामाजिक सञ्जाललाई बन्द गर्न निर्देशन
नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्मलाई बन्द गर्न इन्टरनेट सेवा प्रदायक संघलाई निर्देशन दिएको छ ।
विहीबार प्राधिकरणले विज्ञप्ति जारी गर्दै सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।
सर्वोच्च अदालतको आदेश, नेपाल सरकार मन्त्रीपरिषदको भदौ ५ गतेको निर्णय,आज (विहीबार) बसेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बसेको मन्त्रीस्तरीय निर्णय र सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिक, २०८० बमोजिम प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकहरूलाई २६ वटा समाजिक सञ्जाललाई बन्द गर्न निर्देशन दिएको हो ।
प्राधिकरणले सामाजिक सञ्जालहरू फेसबुक, फेसबुक मेसेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स (ट्विटर), लिंक्डइन, स्न्यापच्याट, रेडिट,डिसकोर्ड, पिन्टेरेस्ट, सिग्नल, थ्रेड्स, वीच्याट, क्वोरा,टम्बलर, क्लबहाउस, मास्टोडन, रुम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रोलाई बन्द गर्न आइएसपीहरूलाई निर्देशन दिएको हो ।




Discussion about this post