

झापा, २ असोज । जेनजीको आन्दोलनपछि मुलुकलाई लयमा फर्काएर नागरिकका अत्यावश्यक सेवाहरू सूचारू गर्न उपभोक्ता जागरण अभियान नेपालले माग गरेको छ ।
उपभोक्ता जागरण अभियान नेपालले जेनजी आन्दोलनबाट उत्पन्न विषम परिस्थितिमा आम नागरिकलाई राज्यबाट अति जरुरी हुने सेवा तत्कालै प्रवाह गर्न माग गरेको हो ।
अभियानका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली)ले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पाँच वटा बुँदामा सरकारको ध्यानाकर्षण गराएका छन् ।
अभियानले स्थानीय निकायबाट प्रवाह हुने नागरिकता तथा नावालक परिचयपत्रको लागि सिफारिस, अचल सम्पत्ति खरिद बिक्रीको सिफारिस, घटना दर्ता लगायतका अत्यावश्यक सेवाहरु तत्काल प्रवाह गर्न माग गरेको छ ।
त्यसैगरी, ज्येष्ठ नागरिक भत्ता अघिल्लो वर्षको अभिलेखको आधारमा वितरण नियमित गर्न, सामाजिक सुरक्षा, निवृत्तिभरण, बैंक खाता सञ्चालन लगायतका विभिन्न सेवाहरु लिन अहिलेको अवस्था सहज नभए सम्मका लागि राष्ट्रिय परिचय पत्र अनिबार्य नगर्न, नागरिकता, राहदानी, स्थायी लेखा नम्बर दर्ता, सवारी चालक अनुमति पत्र लगायतका अत्यावश्यक सेवाहरु बैकल्पिक व्यवस्था गरी तत्काल सेवा प्रवाहित गर्न अभियानले सरकारसँग आग्रह गरेको छ ।
दशैँ लगायतका चाडपर्व नजिक आइरहेको र जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा बजारमा देखिन सक्ने कालोबजारी, महंगी, कृतिम अभाव जस्ता चलखेलको कडा निगरानी गर्न, नियन्त्रण गर्न र बैकल्पिक संरचना निर्माण गरी स्वच्छ बजार निर्माण गर्न अभियानको माग छ ।
मार्सेलीले विज्ञप्तिमा जेनजी आन्दोलनमा जीवन गुमाएका शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।




Discussion about this post