मेचीनगर, २ असोज । नेपाल टेलिकम कार्यालयको अप्टिकल फाइभर (तामाको तार) चोरी गरेर भारत लादै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–५ स्थित नकलबन्दाबाट मेची खोलाको बाटो हुँदै भारत लान लागेको पाँच बोरा नेपाल टेलिफोन कार्यालयको अप्टिकल फाइभरसहित पाँचै जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय नकलबन्दाबाट खटिएको गस्ती टोलीले असोज १ गते अप्टिकल फाइभरसहित पाँच जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा भारत दार्जिलिङ स्थित पानिट्याङ्कीका २४ वर्षीय कात्तिक अधिकारी र ३४ वर्षीय राहुल अधिकारी, बुद्धशान्ति गाउँपालिका स्थित सीतल वस्तीका २५ वर्षीय विजय राजबंशी, कचनकबल गाउँपालिका–३ डाँगीबारीका ४२ वर्षीय संजय माझी र इलाम माई नगरपालिका–३ स्थित जौँबारीका २७ वर्षीय दिनेश परियार रहेका छन् ।
पछिल्लो समय मेचीनगरमा नेपाल टेलिकम कार्यालयको सडक छेउमा विच्छाइएका अप्टिकल फाइभरहरु रातको समयमा काटेर लाने गरेको पाइएको छ । प्लास्टिकको पाइपभित्र तामाको तार हुने भएकाले लागूऔषध सेवनकर्ताहरुले प्रायः उक्त तार चोरेर भारतमा लगेर बेच्ने गरेका छन् ।
नेपाल टेलिकम कार्यालय धुलाबारी शाखाका प्रमुख धमेन्द्रकुमार यादवले इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बरामद गरिएका सामान मुद्दा किराना लागेपछि उपलब्ध गराउन निवेदन दिएका छन् ।
उनले पाँच वटा बोरामा करिव ढेड सय केजी तामाको तार रहेको बताएका छन् । तामाको तार बजारमा प्रतिकेजी २ हजार मुल्य रहेको जानकारको भनाई छ ।




Discussion about this post