मेचीनगर, २८ असोज । यहाँ आयोजित एक कार्यक्रममा स्वच्छ छवी, सोच र इमानदार महिलालाई नेतृत्वमा ल्याउनु पर्ने जोडदार बहस उठेको छ ।
मंगलबार काँकरभिट्टामा महिला जन चेतना केन्द्रको २२ औँ बार्षिक साधारण सभामा बोल्ने सबै बक्ताहरुले आगामी हुने संघ, प्रदेश र स्थानीय तहको चुनावमा स्वच्छ छवी भएका महिलालाई नेतृत्वमा ल्याउन माग गरेका हुन् ।
कार्यक्रमकी प्रमुख अतिथि स्थानीय समाजसेवी एवम् महिला नेतृ बिना तामाङले साधारण सभाको उद्घाटन गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि तामाङ, महिला जन चेतना केन्द्रकी संस्थापक अध्यक्ष राधा प्रधान कार्की, सचिव भुवन सुब्बा, महिला जागरण मञ्चकी अध्यक्ष मीना कटुवाल, मेचीनगर लेडी जेसीजकी अध्यक्ष सविता पोखरेल लगायतले महिला सशक्तीकरणका लागि विगतमा भएका कमजोरीबाट पाठ सिक्दै इमानदार, स्वच्छ छवी र सोच भएका महिलालाई अबको चुनावमा नेतृत्वमा लिएर जानु पर्नेमा जोड दिएका थिए ।
महिला जन चेतना केन्द्रकी अध्यक्ष सीता गुरुङले संस्थाको प्रतिवेदन प्रस्तुतसँगै अध्यक्षता गरेकी थिइन् । केन्द्रकी कोषाध्यक्ष लक्ष्मी खनियाँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य मीरा पोखरेलले गरेकी थिइन् ।




Discussion about this post