झापा, ३ कात्तिक । आज तिहारको तेस्रो दिन कुकुर तिहार ।
सोमबार घरघरमा कुकुरलाई पूजा गरेर मीठा मीठा खानेकुरा दिएर कुकुर तिहार मनाइएको छ ।
कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यसवर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
समितिका सदस्य एवम् वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा.देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनु पर्ने बताउँछन् ।
कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा.तोयराज नेपालले राससलाई जानकारी दिए । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
साँझ भने लक्ष्मी पूजा गरेर मनाइन्छ । आज विहान कुकुरको पूजा गरेर मनाइएको छ । कुकुर र लक्ष्मी पूजा एकै दिन परेको हो ।




Discussion about this post