मेचीनगर, ३ कात्तिक । मेचीनगर नगरपालिकाले यही कात्तिक १ गतेदेखि लागू हुने गरी अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत कर्मचारीहरूको करार सम्झौता रद्द गरेको छ ।
असोज २९ गतेको नगर कार्यपालिकाको वैठकले अस्थायी, ज्यालादारी र करार सेवामा कार्यरत करिव १४३ जना कर्मचारीहरूको कात्तिक १ गतेदेखि हाजिर नहुने गरी करार सम्झौता रद्द गरेको हो ।
नगरपालिकाका प्रवक्ता एवम् वडा नम्बर २ का वडाध्यक्ष दिपक बरालले उक्त कुराको पुष्टि गरेका छन् । उनका अनुसार १४३ जनामध्ये ३÷४ जना बारुणयन्त्रका चालकहरु रहेकाले कार्यालय खुलेपछि उनीहरुको शंसोधन हुने छ ।
कार्यापालिकाको निर्णय नं.३ मा नेपाल सरकार अर्थ मन्त्रालयको मिति २०८२ असोज ७ गते र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको असोज ८ गतेको निर्णय कार्यान्वयन गर्नु पर्ने परिपत्र बमोजिम कार्यान्वयनका लागि कानुनी अवस्था सिर्जना भइ सो परिपत्र कार्यान्वयन गर्न कार्यपालिकाको निर्णय आवश्यक भएको भनि कार्यालयको प्रस्ताव बमोजिम सशर्त अनुदानबाट तलव र अत्यावश्यक सेवा (स्वास्थ्य सेवा, बारुणयन्त्र, नगरप्रहरी, सरसफाइ, चालक र आधारभूत नगर अस्पतालमा हाल कार्यरत कर्मचारी) बाहेक अन्य अस्थायी, ज्यालादारी र करार कर्मचारीहरुको कात्तिक १ गतेबाट लागू हुने गरी करार सम्झौता रद्द गर्ने र हाजिर नगराउने गरी मन्त्रालयको परिपत्रलाई कानुन सम्वत कार्यान्वयन गर्ने सर्वसम्मत निर्णय गरेको छ ।
‘कर्मचारी कटौतीले केहि समय समस्या रहन्छ’ प्रवक्ता बरालले भने–‘नगरवासीको सेवा प्रवाहमा कुनै कमि हुँदैन । सेवाग्राहीको चााप बढे कर्मचारीको अभाव टार्न संयुक्त वडाबाट पनि सेवा दिन सकिन्छ । त्यसका लागि आन्तरिक व्यवस्थापनबाट पनि प्रयास गरिने छ ।’




Discussion about this post