झापा, १६ कात्तिक । सस्तोमा सुन किनेर जंगलमा गाडेका छौँ लिन आउनु भनेर छिमेकी साथिले भनेपछि काठमाडौँबाट झापा आएका सरोज शर्मालाई नै गाडेर हत्या गरेको खुलेको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय झापाले चन्द्रगढीमा पत्रकार सम्मेलन गरेर सो कुरा बाहिर सार्वजनिक भएको हो ।
३२ वर्षीय शर्मालाई हत्या गरेर फरार रहेका ३ जनामध्ये पक्राउ परेका २ जना आरापितले सस्तोमा सुन किनेर जंगलमा लुकाएका छौँ भनेर पैसा लुट्न हत्या गरिएको प्रहरीको भनाई छ ।
काठमाडौंमा व्यापार गर्दै आएका शिवसताक्षी नगरपालिका–१० स्थित माइधारका शर्माले छिमेकी साथिहरु सुनिल र राहुल साह (मामा–भान्जा) लाई सस्तोमा सुन खोज्न भनेका थिए ।
शर्माको पैसा लुट्ने हिसावले मामा–भान्जाले योजना बनाएर दसैं–तिहारको मौका पारेर शर्मा काठमाडौँबाट घर आएका थिए । पैसा लुट्ने, उनलाई अपहरण गरी भारत लैजाने र त्यहाँ बन्धक बनाएर करोडौँ रुपैयाँ फिरौती असुल्ने साहको योजना थियो ।
योजना बमोजिम शर्मालाई कात्तिक ९ गते साहले सुन ल्याएर गाडेर राखेको ठाउँ देखाउँछु भन्दै शर्मालाई अर्जुनधारा नगरपालिका–४ दहीझोडा स्थित सामुदायिक वन क्षेत्रमा लिएर गएका थिए ।
साँझ वनको एकान्त जंगल क्षेत्रमा पुगेपछि साह र उनका भान्जा राहुल साहले हथौडा प्रयोग गरी शर्माको हत्या गरेको प्रहरीले बताएको छ । हत्यापछि मामा–भान्जाले एक भारतीय नागरिकको सहयोगमा शर्माको शव विरिङ खोलाको पुलमुनि गाडेका थिए ।
शव गाडेपछि शर्माकै गाडीमा फर्किएका उनीहरुले मेचीनगर–१२, हातेमालो सामुदायिक वन (निचाझोडा सिमसार क्षेत्र) मा गाडीमा आगजनी गरेका थिए ।
प्रहरीले सुनील र राहुललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । घटनामा संलग्न भारतीय नागरिक भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
आरोपितहरुलाई अपहरण र ज्यान मार्ने उद्योग सम्बन्धी जिल्ला अदालत झापामा मुद्दा दर्ता गरिएको प्रहरीको भनाई छ । पत्रकार सम्मेलनको सहजीकरण जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवम् डीएसपी खगेन्द्रकुमार खड्काले गरेका थिए ।




Discussion about this post