मेचीनगर, २८ मंसिर । बिन्ती बचत तथा ऋण सहकारी संस्था मेचीनगरको १७ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार मेचीनगर–८ स्थित कञ्चनजंघा आधारभूत विद्यालयको सभाहलमा माइन्यूट प्रमाणिकरणसहित साधारण सभा सम्पन्न गरिएको हो ।
संस्थाले यसअघि सतिघट्टा, श्रृजनाचोक, नकलबन्दा र टोकला बगान क्षेत्रमा इकाई साधारणसभा सम्पन्न गरिसकेको छ । कार्यक्रममा प्रमुख अतिथि बचत तथा ऋण सहकारी संघ कोशीका कोषाध्यक्ष विश्वेश्वरप्रसाद भट्टराई रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई, मेचीनगर–८ का वडाध्यक्ष गिरीराज धमला, वडा सदस्य विष्णु भट्टराई, न्यायिक समिति मेचीनगरका सदस्य कुन्दन निरौला, नकलबन्दा बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष माया प्याकुरेल, संस्थाका संस्थापक अध्यक्ष दशरथ खडिया लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा उत्कृष्ट बचत कर्तातर्फ शुभकुमारी राई र रजनी तिर्की, असल ऋणीतर्फ श्यामकुमार विश्वकर्मा र उमा मगर, उत्कृष्ट कर्मचारी शोभा मगरलाई नगदसहित सम्मान गरिएको थियो ।
२९ जना शेयर सदस्यबाट २९ हजार रुपैयाँ शेयर पूँजी संकलन गरी स्थापना भएको संस्थामा हाल २ हजार १० जना सदस्य छन् ।
संस्थाको शेयर पूँजी ५२ लाख १२ हजार ८० रुपैयाँ, सदस्य बचत संकलन ३ करोड ६२ लाख ६ हजार ३१ रुपैयाँ, कुल ऋण लगानी ३ करोड १ लाख ७५ हजार ९ सय ६३ रुपैयाँ रहेको छ ।
संस्थाले किसानहरूका लागि सहुलियत दरमा अनुदानको रासायनिक मल तथा बिउबिजन बिक्री–वितरण गर्दै आएको छ । साथै, सदस्यहरूका लागि मोबाइल बैंकिङ सेवा पनि सञ्चालनमा रहेको छ ।
बिन्ती साकोसका अध्यक्ष विकेन्द्रकुमार धिमालले वार्षिक प्रतिवेदन प्रस्तुतसहित अध्यक्षता गरेका थिए । संस्थाका व्यवस्थापक आरती उराँवले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहव्यवस्थापक किशोर उपरकोटीले गरेका थिए ।




Discussion about this post