बिर्तामोड, २९ मंसिर । झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिमहप्ता हुने भएको छ ।
अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिका अनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको हो ।
हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ ।
प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा–११ एफसी र ए डिभिजन टिमसहित १० टोलीले भाग लिने गोल्डकपका अध्यक्ष केदार गिरीले बताए ।
प्रतियोगिताको विजेताले नगद १५ लाख, उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई २५÷२५ हजार, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइनेछ ।




Discussion about this post