झापा, ८ पुस । जेनजी आन्दोलनपछि राष्ट्रपति कार्यालय शीतल निवासमा शीर्ष नेतासहित प्रधानमन्त्री र राष्ट्रपतिसँग पहिलो पटक भेटघाट भएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि शीर्ष नेतासहित प्रधानमन्त्री र राष्ट्रपतिसँग पहिलो पटक भेट भएको छ । जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री बनेकी कार्कीले शीर्ष नेताको मुख हेर्न नचाहेको सार्वजनिक अभिव्यक्ति नै दिएकी थिइन् ।
मंगलबार दिउँसो प्रधानमन्त्री कार्कीले शीर्ष नेताहरुसँग करिव चार घण्टा प्रत्यक्ष संवाद गरेकी थिइन् । के के विषयमा छलफल भयो भन्ने कुरा बाहिर सार्वजनिक भइसकेको छैन् ।
प्रधानमन्त्री कार्की बाहिरेपछि राष्ट्रपति पौडेलसँग देउवा, ओली र प्रचण्डले छुट्टा छुट्टै छलफल गरेका छन् ।




Discussion about this post