
मेचीनगर, २५ पुस । सुस्त–सुस्त गतिमा चलिरहेको धुलाबारीको आम्दा मेची अस्पताललाई अब नयाँ ढंगले चलाउन सरोकारवाला तीन पक्षबीच साझेदारी सहकार्य भएको छ ।
धुलाबारीको आम्दा मेची अस्पताल व्यवस्थापन तथा सञ्चालनका लागि मेचीनगर नगरपालिका, मेची उद्योग बाणिज्य संघ र आम्दा नेपालबीच त्रिपक्षीय सम्झौता भएको हो ।
अस्पताललाई माथि उठाउन तीन पक्षबीच विगत तीन वर्षदेखि घनिभूत छलफल भइरहेको थियो । आज उक्त छलफल टुंगोमा पुगेको छ ।
त्रिपक्षीय हस्ताक्षर
शुक्रबार नगरपालिकाको प्रमुखको कार्यकक्षमा भएको छलफलपछि आम्दा मेची अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाई र आम्दा नेपालका अध्यक्ष डा.रोहितकुमार पोखरेलले त्रिपक्षीय सम्झौतामा हस्ताक्षर गरेका थिए ।
‘आम्दा मेची अस्पताल व्यवस्थापन तथा सञ्चालन निर्देशिका–२०८२’
सम्झौतासँगै ‘आम्दा मेची अस्पताल व्यवस्थापन तथा सञ्चालन निर्देशिका–२०८२’ जारी भएको छ ।
यसअघि २०६५ कात्तिक १० गते सोही संस्थाहरुको त्रिपक्षीय सम्झौता अनुसार आम्दा मेची अस्पताल व्यवस्थापन तथा सञ्चालन भइरहेको थियो । स्व.रविरत्न खनाल र स्व.पद्मादेवी खनालले निःशुल्क दिएको २ विघा ५ धुर जग्गामा अस्पताल सञ्चालनमा छ ।
तत्कालिन अवस्थामा नगरपालिकाको तर्फबाट कार्यकारी अधिकृत भगवान अर्याल, मेची उद्योग बाणिज्य संघका अध्यक्ष विजय डालमिया, आम्दा अस्पतालका तर्फबाट डा.मधुकर दाहालको त्रिपक्षीय सम्झौता भएको थियो ।
एमालेका नेता एवम् नगरपालिकाका प्रथम नगरप्रमुख रविन कोइराला, मेची उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैन लगायतको उपस्थिति रहेको थियो । २०६५ कात्तिक १० गतेको बुँदा नं.२२ बमोजिम संशोधन गरेर नयाँ निर्देशिका लागू गरिएको छ ।
आम्दा मेची अस्पताल विकास समिति अध्यक्षमा नगरप्रमुख
जारी गरिएको निर्देशिकामा आम्दा मेची अस्पताल विकास समिति गठन गरिएको छ । जसको अध्यक्ष नगरप्रमुख, मेचीनगर नगरपालिका रहने छ । उपाध्यक्षमा मेची उद्योग बाणिज्य संघको अध्यक्ष, सदस्यमा आम्दा नेपालले तोकेको प्रतिनिधि, सदस्यमा आजीवन, विशिष्ठ तथा संरक्षक सदस्यहरु मध्येबाट ३ जना, सदस्य नगरपालिका स्वास्थ्य शाखा प्रमुख वा अध्यक्षले मनोनयन गरेको व्यक्ति एक जना, सदस्य उपाध्यक्षले मनोनयन गरेको व्यक्ति एक जना, सदस्यसम्बन्धित वडाध्यक्ष पदेन रहने गरी एक जना, सदस्य जग्गादाता परिवारभित्रका मध्येबाट एक जना र सदस्य सचिवमा अस्पताल प्रमुख वा निजले तोकेको अधिकृतस्तरको कर्मचारी रहने व्यवस्था रहेको छ ।
त्रिपक्षीय सहमती
सहमती अनुसार आम्दा नेपालले भौतिक पूर्वाधार निर्माणका लागि सम्बन्धित कार्यालय र संस्थासँग समन्वय गर्ने, अस्पताल सञ्चालन गर्न आवश्यक उपकरणहरुव्यवस्थापन गर्ने, आर्थिक श्रोतको संकलनमा प्रभावकारी भूमिका निर्वाह गर्ने रहेको छ ।
त्यस्तै, मेचीनगर नगरपालिकाले भौतिक पूर्वाधार निर्माणका लागि आन्तरिक तथा बाह्य आर्थिक र प्राविधिक श्रोत जुटाउने, पूर्वाधार विकासका लागि सार्वजनिक निर्माणका कार्य गर्ने, राजनीतिक दल, नागरिक समाज र अन्य संघ–संस्थासँग समन्वय गर्ने, औसत सहभागिताका आधारमा बार्षिक रुपमा बजेटको व्यवस्था गर्ने, अस्पतालको विस्तृत परियोजना प्रतिवेदन तयार गरी विकास निर्माण र दीर्घकालिन लक्ष्यहरु तयार गर्ने रहेको छ ।
यसैगरी मेची उद्योग बाणिज्य संघले भौतिक पूर्वाधार निर्माणका लागि आर्थिक श्रोत जुटाउने, उद्योगपति, व्यापारीहरुसँग समन्वय गर्ने र श्रोत संकलनमा आवश्यक भूमिका निर्वाह गर्ने, बार्षिक बजेट व्यवस्थापनका लागि श्रोत खोजी गर्ने रहेको छ ।
हस्तारक्षरमा सहभागी
हस्तारक्षर कार्यक्रममा नगरप्रमुख बुढाथोकी, प्रथम नगरप्रमुख कोइराला, आम्दा नेपालका अध्यक्ष पोखरेल, बाणिज्य संघका अध्यक्ष प्रसाईले अस्पताललाई व्यवस्थित रुपमा सञ्चालन गर्न निर्देशिका संशोधन गरेर नयाँ जारी गरिएको बताए ।
कार्यक्रममा आम्दा नेपालका सचिव डा.दुर्गाप्रसाद भण्डारी, सदस्यद्वय डा.दिपक अर्याल, डा.शंखर हुचदार, कार्यक्रम निर्देशक सुदेश रेग्मी, आम्दा दमकका मेडिकल सुपरिटेन्डेन्ट डा.शिखर कट्टेल, आम्दा धुलाबारीका मेडिकल सुपरिटेन्डेन्ट डा.पोषण रमण त्रिपाठी, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, ७ का वडाध्यक्ष प्रलादमणि ओली, मेची उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष विजय डालमिया, कार्यकारी प्रमुख गोपाल वस्नेत, आम्दा दमकका प्रशासक सुमनकुमार नेपाल, आम्दा धुलाबारीका प्रशासक किरण निरौला, आम्दा धुलाबारी लेखा प्रमुख शारदा घिमिरे लगायतको सहभागिता रहेको थियो ।




Discussion about this post