



मेचीनगर, २ चैत । इनिशा विक हत्या प्रकरणको छानविन र दोषीलाई कडा कारवाहीको माग गर्दै काँकरभिट्टामा विरोध प्रदर्शन गरिएकाे छ ।
प्रगतिशील युवा क्लब धुलाबारीकाे अगुवाइमा आज विहान काँकरभिट्टामा शान्तिपूर्ण खवरदारी काेणसभा सम्पन्न गरेकाे हाे ।
मेचीनगरका विभिन्न सामाजिक संघ-संस्थाहरू, क्याम्पस, स्कुलका विद्यार्थी लगायतले इनिशा विकका हत्याराहरूलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै काँकरभिट्टा बजारमा माैन र्याली प्रदर्शन गरिएको थियाे ।
प्रदर्शनमा सहभागीहरूले इनिशा विकको हत्यारालाई कारवाही गर, बालबालिका माथि हुने हिंसा अन्त्य गर, पितृसत्ता मुर्दावाद, बलात्कारी जन्माउने व्यवस्थालाई ध्वस्त पारौं लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
र्यालीपछि इलाका प्रहरी कार्यालय नजिकै सडकमा काेण सभा गरिएको थियाे ।
काेण सभामा सामाजिक अभियन्ता राधा प्रधान कार्की, पूजा सापकाेटा, शिक्षक शुभद्रा भट्टराई अर्याल, पत्रकार अम्बिका भण्डारी, युवा नेता विनय कार्कीले गम्भीर ढंगले विक हत्या प्रकरणको छानविनका साथै उक्त घटनामा संलग्नलाई दाेषीलाई कडा कारवाही र यस्ता घट्नाहरू दाेहाेरिन नदिन सबै सचेत हुनु पर्नेमा जाेड दिएका थिए ।
क्लबका अध्यक्ष विशाल कार्कीकाे अध्यक्षतामा सम्पन्न खवरदारी सभाकाे सञ्चालन सचिव करूणा पाेखरेलले गरेकी थिइन् ।
यस्ताे थियाे घट्ना यही फागुन २३ गते वीरेन्द्रनगर नगरपालिका-१ की १६ वर्षीया इनिशाको रहस्यमय मृत्यु भएको थियो ।
वीरेन्द्रनगर-४, स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा फेला परेकी इनिशालाई सोही दिन कर्णाली प्रदेश अस्पतालले मृत घोषणा गरेको थियो ।
वीरेन्द्रनगर-६, स्थित एक निजी विद्यालयमा कक्षा ११ मा अध्ययनरत इनिशा त्यसदिन प्रयोगात्मक कक्षा लिन भन्दै घरबाट निस्किएकी थिइन् ।
जंगलमा अचेत अवस्थामा भेटिएकी इनिशाको पोस्टमार्टम रिपोर्टमा अत्याधिक रक्तश्राप रहेको उल्लेख छ ।
प्रहरीले घटनास्थलबाट एक १६ वर्षीय बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका थियो ।
अनुसन्धानका क्रममा पक्राउ परेका ती बालकले इनिशासँग शारीरिक सम्बन्ध राखेपछि रक्तश्राप भएको र उनी बेहोस भएको बयान दिएका छन् ।
प्रहरीले थप तीन जना बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान जारी राखेको छ ।




Discussion about this post