

मेचीनगर, २ चैत । शहीद मार्ग अन्तरगतको धुलाबारी बजार क्षेत्रको अधुरो सडक एकहप्ता भित्रदेखि बन्न सुरु हुने भएको छ ।
सोमबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले मेची उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष किशोर क्षेत्री (कपिल) को नेतृत्वमा भेट्न गएको टोलीलाई यस्तो बताएका हुन् ।
नगरप्रमुख बुढाथोकी अनुसार सो क्षेत्रको निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी केदार गिरीसँग छलफल भइरहेको छ । दुई, तीन दिनभित्रदेखि अधुरो काम सुरु हुनेछ ।
संघका वरिष्ठ उपाध्यक्ष क्षेत्रीसँगै गएका उद्योग उपाध्यक्ष भुमि पौडेल, कार्यसमिति सदस्य श्यामप्रसाद न्यौपाने, व्यवसायीहरु तनुज मारु, सागर राजबंशी, कार्यकारी निर्देशक गोपाल बस्नेतले अलपत्र रहेको सडकमा पानी पर्दा विजोग हुने भएकोले समस्या समाधानको उपाय अपनाउन नगरप्रमुखलाई अनुरोध गरेका थिए ।
सडक बनाउन ठेकेदार र कसैले अवरोध गरे संघ र व्यवसायीहरुले साथ र सहयोग गर्ने नगरप्रमुखलाई बाचा गरेका थिए । नगरप्रमुख बुढाथोकीले निर्माण व्यवसायी गिरीलाई नगरपालिकाले चाँडै केहि रकम भुक्तानी गरेर करिव २ महिनाभित्र सडक निर्माणको काम सक्ने व्यवसायीलाई बताएका थिए ।
अधुरो रहेको सडकमा निर्माण व्यवसायीले जिम्मा लिएको खानेपानी, विद्युत लगायतका समस्याको समाधान गरेर केहि दिनभित्रै ठेकेदारले सडक बन्न सुरु गर्ने नगरप्रमुखले जानकारी गराउनु भएको वरिष्ठ उपाध्यक्ष क्षेत्रीले बताए ।
नगरपालिकाको गौरवको योजना अन्तरगत विश्व बैंकको सहयोगमा सहीद विरेन राजबंशी मार्ग(शहीद मार्ग) धुलाबारीदेखी मेचीनगर–९ को थोप्लेविरानसम्म ४.८ किलोमिटर सडक निर्माण अन्तिम चरणमा पुगेको छ । शहीद मार्ग सडकको ठेक्का एनएनटी डेभलोपर भारतको पटना कम्पनीले करिव ८७ करोडमा लिएको छ ।




Discussion about this post