

काँकरभिट्टा, १ चैत । यसपटक साउन यता आठ महिनामा पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल आउने विदेशी पर्यटकको संख्या ६ हजार ७९१ जना रहेको छ ।
अध्यागमन कार्यालय काँकरभिट्टाका अनुसार चालु आर्थिक वर्ष २०८२÷८३ सालको साउनदेखि फागुन सम्मको ८ महिनामा विभिन्न विदेशीमुलुकबाट सो संख्यामा पर्यटकहरु नेपाल आएका हुन् ।
साउनमा २८४ जना, भदौमा २१९ जना, असोजमा ५४१ जना, कात्तिकमा ६२४ जना, मंसिरमा ८७३ जना, पुसमा १८५० जना, माघमा १३९५ जना र फागुनमा १००५ जना विभिन्न देशबाट पर्यटक नेपाल भित्रिएको कार्यालय प्रमुख तुलसी भट्टराईले जानकारी दिए ।
नेपाल आएका ९ हजार ९२४ जना मध्य ६ हजार ७९१ जना विदेशी पर्यटक रहेका छन् । नेपाल आउने पर्यटकहरुमा विशेष गरेर अमेरिका, अष्ट्रेलिया, थाइल्याण्ड, युके, रसिया, इजरायल र भुटानका पर्यटकहरु रहेका छन् ।
सोही समयमा विदेशबाट नेपाल आउने नेपालीहरु ३ हजार १३३ जना रहेको कार्यालयले जनाएको छ । यसपटक विदेशी र नेपाली गरेर आठ महिनामा ९ हजार ९२४ जना नेपाल आएको भट्टराईले बताए ।
यता नेपालबाट विदेश फर्किएका विदेशी पर्यटक ६ हजार ५५२ जना र नेपालीहरु एक हजार ८४७ जना गरी ८ हजार ३९९ जना रहेका छन् ।
कार्यालयले ५ हजार १४ जनाको पर्यटक भिसा, नाता भिसा ९४ जना, वैवाहिक भिसा २० जना र गैर आवसीय नेपाली भिसा २९ जनाको जारी गरेको छ भने १६ जनाको भिसा कारवाहीका लागि विभाग पठाएको छ ।
कार्यालयका अनुसार गतवर्ष २०८१÷८२ सालमा नेपाल आएका १३ हजार ८९७ जना मध्य ८ हजार ७२३ जना विदेशी पर्यटक रहेका थिए ।
कार्यालय प्रमुख भट्टराईले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन र अहिले हाल चलिरहेको मध्यपूर्वको युद्वले नेपाल आउने र जाने पर्यटकलाई खासै असर नपारेको बताए । आन्दोलनले केहिदिन त कार्यालय नै जलेको थियो । बन्द थियो । तर, पनि पर्यटक भिसा लगाउन आइरहेका छन् ।
पर्यटकलाई आफै फारम भर्ने सुविधा
विदेशबाट भिसा लगाउन आउने पर्यटकको सुविधाका लागि कार्यालयले मुल ढोका छेउमा कम्प्युटर र इन्टरनेटको व्यवस्था गरिदिएको छ ।
पर्यटकले आफै सो कम्प्युटरमा फारममा आफ्नो बायोडेटा समावेश गरेपछि भित्र कर्मचारीले भिसाको प्रकियाअघि बढाइदिने गरेको छ । जसले गर्दा पर्यटकलाई झनझट हुँदैन । लामो लाइन बसेर भीड गर्न नपर्ने गरी त्यो सुविधा कार्यालयले मिलाइदिएको छ ।




Discussion about this post