मेचीनगर, २४ भदौ । नेपाली काँग्रेसको यहि भदौ २७ गते हुने नगर अधिवेशनमा मेचीनगरका युवा नेता नविन बरालले सभापति पदमा चुनाव लड्ने घोषणा गरेका छन् ।
विहीबार काँकरभिट्टा स्थित ग्रेस होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उनले कांग्रेसको मेचीनगर सभापतिमा पदमा चुनाव लड्ने घोषणा गरेका हुन् ।
नगर अधिवेशन आउँन दुई दिन बाँकी रहँदा बरालले नगर सभापतिको उम्मेद्वारको लाइनमा आँफूलाई फरक ढंगबाट उभ्याएको दावी प्रस्तुत गरेका छन् ।
वीपी जयन्तीको अवसर पारेर नगर सभापतिमा उम्मेद्वारी घोषणा गरेका बरालले सभापतिमा आफ्नो सशक्त उम्मेद्वारी रहने जानकारी गराए ।
सभापतिका आकांक्षीहरुबाट समेत आफूलाई समर्थन रहने बताउँदै उनले भूगोलको समावेशिताका आधारमा समेत आफु सभापतिको बलियो उम्मेद्वार रहेको बताए ।
उनले पार्टीलाई मजवुत र इमानदार ढंगले अघि बढाउन सम्पूर्ण भातृ संस्थालाई चलायमान बनाउँदै पार्टीको संगठन सुदृढिकरणमा लाग्ने प्रतिवद्धता समेत ब्यक्त गरेका छन् । उनले नेतृत्वका लागि सर्वसम्मत वा निर्वाचन जे भएपनि आफु तयार रहेको बताए ।
कांग्रेस नगर समितिको वर्तमान सहसभापति रहेका बराल वडा नम्बर ४ का वडाध्यक्ष तथा मेचीनगर नगरपालिका समाजिक विकास समिति संयोजक छन् । उनले तरुण दल हुँदै साविक कांग्रेस बाहुनडाँगी गाविसको सभापतिको नेतृत्व सम्हाली सकेका छन् ।
नगरमा कोभिड संक्रमण नियन्त्रणमा सक्रिय रहेका बरालले पटक÷पटक कार्यबाहक नगर प्रमुखको भूमिकासमेत निर्वाह गरि सकेका छन् । बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष, रोटरी क्लब काँकरभिट्टाका बोर्ड सदस्य रहेका बराल सहिद विश्वनाथ घिमिरे प्रतिष्ठानका वर्तमान उपाध्यक्ष समेत हुन् ।
कांग्रेसको हालको विधान अनुसार नगर कार्यसमिति ७५ सदस्यीय रहनेछ । जसमा एक सभापति, दुई उपसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्ष हुनेछ । नगरको नेतृत्व चयनका लागि ५ सय भन्दाबढी क्षेत्रीय प्रतिनिधि वडाबाट चयन भएका छन् ।
Discussion about this post