झापा, ७ साउन । बिर्तामोडमा प्रधान कार्यालय रहेको एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड १८ बर्षमा प्रवेश गरेको छ ।
बैँक शुक्रबारदेखि १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको हो ।
बिर्तामोडमा मुख्य कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पाँचथरका विभिन्न स्थानमा गरी ४४ वटा शाखा कार्यालयहरुमार्फत ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
चालु आर्थिक वर्षमा प्रदेश नं. १ भरि आफ्नो कारोवार सञ्चालन गर्ने उद्देश्यका साथ आवश्यक न्यूनतम चुक्ता पुँजी पुरा गरिसकेको हुनाले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै कार्यक्षेत्रभित्रका जिल्लाहरुमा थप नयाँ शाखाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।
पुँजीगत हिसाबले प्रादेशिक बैंक जतिको पुँजी पुगिसकेकाले अब छिट्टै यसलाई प्रादेशिक बैंकको रुपमा विकसित गरिने बैंकका प्रमुख कार्यकारी(सिईओ) अधिकृत इन्द्रकुमार कट्टेलले बताए ।
उनले बिर्तामोडको एउटा कोठामा शून्य कारोबारबाट शुरुवात भएको स्मरण गर्दै सो बैंकको अहिले साढे १२ अर्बभन्दा बढी डिपोजिट र साढे १० अर्बभन्दा बढी कर्जा लगानी रहेको बताए । समृद्ध बैंक बनाउने दिशातर्फ सबैको साथ र सहयोगले आफूहरु अघि बढेको उनको भनाई थियो ।
कार्यक्रममा बैंकका अध्यक्ष महेन्द्रकुमार गोयलले आगामी दिनमा समेत बैंकको विकास र विस्तारमा सबैको सहयोग रहनेमा विश्वास व्यक्त गरे ।
कार्यक्रममा बैंकका संस्थापक शेयरधनी डा.रुपक खनाल, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष जलकुमार गुरुङ, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अध्यक्ष गोयलको अध्यक्षतामा सम्पन्न कार्यक्रमकमा सिईओ कट्टेलले स्वागतसहित बैंकको गतिविधिबारे प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन कम्पनीका सचिव श्याम बोहोराले गरेका थिए ।
बैंकले अहिले अत्याधुनिक बैंकिङ प्रविधिअन्तर्गत डिजिटल बंैकिङ, मोबाइल बैंकिङजस्ता सुविधाहरु उपलब्ध गराइएको छ ।
यसैवीच कार्यक्रम सुरु हुनुअघि बैँकका कर्मचारीहरुले विहान मुक्तिचोकमा प्रभातफेरी गरेका थिए भने
विभिन्न शुभेच्छुक, संघ–संस्थाका पदाधिकारी, बैंकका कर्मचारीहरुबाट ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडलाई प्रदान गरिएको थियो ।
Discussion about this post