बिर्तामोड, १० साउन । एक्सेल डेभलपमेन्ट बैंक प्रदेश नं. १ को पहिलो प्रादेशिक बैंक बनेको छ ।
प्रादेशिक बैंकको मान्यता पाउनका लागि प्रदेशभर बैङ्किङ कार्यक्षेत्र हुनुपर्ने छ ।
यसअघि झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर गरी पाँच जिल्ला मात्र कार्यक्षेत्र रहेकोमा बैंकको १६ औं वार्षिक साधारणसभाले क्षेत्र विस्तार गरी प्रदेशका १४ वटै जिल्ला वित्तीय कार्यक्षेत्र हुने निर्णय गरेको छ ।
साधारणसभा सोमवार विर्तामोडको सिद्धार्थ होटलमा भएको थियो ।
सत्र वर्ष अघि दुई करोडको पूँजीमा स्थापित यो बैंकले आफ्ना एक लाख ७० हजारभन्दा बढी ग्राहकलाई ४४ शाखाबाट बैङ्किङ सेवा प्रदान गरिरहेको छ ।
ग्राहकहरुको सेवामा समर्पित हुनुपर्छ भन्ने मान्यतामा उभिएर आफ्ना गतिविधि गरिरहेको एक्सेलमा २६६ जना कर्मचारी कार्यरत छन् ।
बैंकको साधारणसभाले कम्पनीको जारी र चुक्ता पूँजी एक अर्ब १५ करोड १७ लाख ९२ हजार १३९ रुपैयाँबाट बढाएर एक अर्ब २४ करोड ९६ लाख ९४ हजार ४७० रुपैयाँ पुर्याउने निर्णय गरेको छ ।
साधारणसभामा बैंक सञ्चालक समितिका अध्यक्ष महेन्द्रकुमार गोयलले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनका अनुसार आव २०७८ चैत सम्ममा बैंकले ११ अर्ब २५ करोड ९४ लाख ९७ हजार रुपैयाँ निक्षेप संकलन र १० अर्ब ६९ करोड ८९ लाख ५८ हजार रुपैयाँ कर्जा लगानी गरेको उल्लेख छ ।
सोही अवधिसम्मको बैंकको खुद नाफा १० करोड ५८ लाख ६५ हजार रुपैयाँ रहेको जनाइएको छ ।
गोयलकै अध्यक्षतामा भएको साधारणसभामा कम्पनीका पूर्व अध्यक्ष हेमराज ढकाल, सञ्चालक राजन शर्मा, सञ्चालक पर्शुराम दाहाल, प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेल, पूर्व सञ्चालक सुरेश बंशल, पूर्व सञ्चालक डा. रुपक खनाल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सञ्चालकहरु शुष्मा शर्मा, पेशल पोखरेल, पुरुषोत्तम लम्साल र अमित अग्रवालको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमा कम्पनीका सचिव श्यामबहादुर बोहोराले उद्घोषण र कम्पनीका गतिविधि, वत्र्तमान वित्तीय अवस्था र भावी चुनौतीका बारेमा सीइओ डा. इन्द्रकुमार कट्टेलले प्रकाश पारेका थिए ।
साधारणसभाले ८.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने र बोनस शेयरको कर प्रयोजनका लागि ०.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
Discussion about this post