बिर्तामोड, १३ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनबाट झापा जिल्लाको लाल किल्लाको विरासत फर्काउने उद्घोष गरेका छन् ।
शुक्रबार बिर्तामोडको सागर पार्टी प्यालेसमा आयोजित एमालेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले त्यस्तो कुरा बताएका हुन् ।
‘२०४८ सालमा एमालेले झापालाई लाल किल्ला बनाएको थियो’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले–‘आगामी मंसिरमा हुने संघिय निर्वाचनबाट त्यो पुरानो विरासत फर्काउने छौँ ।’
अध्यक्ष ओलीले झापालाई यसपटक लालकिल्ला बनाउन सोहि अनुसार तयारीमा लाग्न सबै नेता तथा कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका थिए ।
‘नेपाली कांग्रेसले २८ वर्ष सत्तामा बस्यो र २१ वर्ष नेतृत्वमा नै बस्यो’, अध्यक्ष ओलीले भने–‘ तर अहिलेसम्म देखिने कामहरू केहि गरेकै छैन् । एमालेले पछिल्लो पटक साढे तीन वर्ष सरकार चलाउँदा कोरोना महामारीसँग जुझ्दै पनि २ वर्ष राम्रा काम गर्यो ।’
‘निर्वाचनको माध्यमबाट गठबन्धन भत्काउनु छ’, अध्यक्ष ओलीले भने–‘देशलाई बरवाद हुनबाट बचाउनु छ । जनतालाई सचेत गराएर मुलुकलाई ध्वस्त हुनबाट बचाउनु छ । बर्वादीबाट बचाउन एमालेको सरकार बन्नुपर्छ’ एमालेले त्यो काम गरेर देखाउनेछ ।’
कार्यक्रममा एमाले प्रदेश १ का इन्चार्ज देवराज घिमिरे, प्रदेश १ का अध्यक्ष तुलसी पाठक, झापा इन्चार्ज अग्नी खरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
एमाले झापा अध्यक्ष दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव शिव ढुंगेलले गरेका थिए ।
Discussion about this post