झापा, २८ भदौ । नेकपा एमाले झापा जिल्ला कमिटी अन्तरगत स्वास्थ्य तथा जनसंख्या विभागले डेंगु रोगको प्रकोप बढिरहेको अवस्थामा सरकारले यसको रोकथाम र नियन्त्रणका लागि पहल नगरेको आरोप लगाएको छ ।
मंगलबार सम्पन्न बैठकपछि स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख प्रोमिश गिरीले प्रेस विज्ञप्ती जारी गर्दै सरकारले देशभर डेंगु रोगको प्रकोप नियन्त्रणमा सन्तोषजनक काम गर्न नसकेको दावी गरेका छन् ।
डेंगु जाँच पड्ताल र उपचारलाई सहज, सरल एवम् आम सर्वसाधारणसम्म पुग्ने गरी व्यवस्था गर्न आग्रह गर्दै विभागीय प्रमुख गिरीले डेंगु नियन्त्रणका लागि जनचेतना जगाउन सरकारलाई सुझाव दिएका छन् । उनले लामखुट्टेको लार्भा नष्ट गर्ने कार्य चाडो सञ्चालन गर्न आग्रह पनि गरेका छन् ।
आम सर्वसाधारणलाई चेतना जागरण गराउँदै विभागीय प्रमुख गिरीले लामखुट्टेले टोक्न नपाउने गरी शरीर ढाक्नेगरी कपडा लगाउन, सचेतरहन, घर वरिपरी सफा राख्न, पानी जम्ने खाल्डाखुल्डी तथा अन्य सामानहरु व्यवस्थित गर्न पनि प्रेस विज्ञप्तीमार्फत् आग्रह गरेका हुन् ।
Discussion about this post