झापा, ८ असोज । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको सदस्य संख्या एक लाख ६० हजार नाघेको छ ।
संस्थाको कारोवार पनि उच्च छ । वित्तीय कारोवार र सदस्य आकारका हिसाबले सहारा नेपाल अब मुलुककै पहिलो नम्बरको सहकारी संस्था हुन पुगेको छ ।
संस्थाले आज दसैं शुभकामना आदानप्रदान तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रममा यो जानकारी सार्वजनिक गरेको हो । यसको मुख्य कार्यालय विर्तामोड–२ चारपाने छ । यही भदौसम्ममा सहाराको सदस्य १ लाख ६० हजार नाघेको हो ।
संस्थाको बचत ९ अर्ब ९६ करोड ३५ लाख २२ हजार ४६७ रुपैयाँ, ऋण लगानी १२ अर्ब ८४ करोड ३४ लाख ४१ हजार ३७८ रुपैयाँ, शेयर पूँजी १ अर्ब ६३ करोड १८ लाख ९१ हजार ८०० रुपैयाँ र जगेडा कोष १ अर्ब ११ करोड १९ लाख ८२ हजार ९५८ रुपैयाँ पुगेको छ ।
संस्थामा १ अर्ब ६३ करोड ७ लाख ४४ हजार ८१६ रुपैयाँ नगद तथा बैंक मौज्दात रहेको जनाइएको छ । प्रदेश नं. १ को ११ जिल्लामा सहाराका ७९ वटा सेवा केन्द्र सञ्चालन भइरहेका छन् ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्र गिरीका अनुसार २०५२ सालमा ३३ जना संस्थापक सदस्यले ३४ हजार रुपैयाँ शेयर पूँजी संकलन गरेर सहाराको स्थापना गरेका थिए । संस्थामा हाल ५२० जना कर्मचारी र ऋणी संख्या ८७ हजार ७० जना रहेका छन् ।
Discussion about this post