मेचीनगर, २४ असोज । नेकपा एमालेबाट झापा क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार अग्नी खरेलले राम कार्कीको तुलना नगर्न अनुरोध गरेका छन् ।
आइतबार साँझ काँकरभिट्टा स्थित भानु साहित्यिक प्रतिष्ठानमा खरेल बन्धुहरुले आयोजना गरेको मतदाताहरुसँगको पहिलो भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् ।
उनले अग्नी खरेललाई राम कार्कीसँग तुलना नगर्न आग्रह गरेका थिए । ‘विगतमा यस क्षेत्रमा जितेर गएकाले काम नगरेको जानकारी मलाई आएको छ’, नेता खरेलले भने–‘यहाँका जनताले साथ र सहयोग गरे पहिलाका अधुरा र नयाँ कामहरु सम्पन्न गर्ने जिम्मा मेरो हुनेछ । विगतमा कुरा मिठा भए, तर काम भएनन् । काम गर्ने मान्छेले काम गरेर देखाउँछ । त्यसका लागि मलाई एकपटक परीक्षण गर्ने मौका दिनुहास् ।’
उनले भने–‘तपाईहरु अब ४० दिन मात्र खटिदिनुहोस्, त्यसपछि बाँकी ५ वर्ष म खट्छु । रोटी खस्रो मिठो हुन्छ । चकलेटी भाषा र चिप्लो भाषणको पछि नलागौँ ।
एमालेका स्थायी कमिटी सदस्य एवम् सरकारको महान्यायधिवक्ता समेत रहिसकेका प्रमुख अतिथि खरेलले विगतदेखि नै मेचीनगरसँग नजिक रहेको व्यक्ति भएको बताए । उनले म कानून मन्त्री हुँदा रविन कोइरालाले मेची कोरिडोरको कुरा ल्याउनु भएको स्मरण गरे ।
त्यतिबेला मेची कोरिडोरको सुरुवात मैले गरिदिएको बताएका छन् । पछि प्रदेश सरकारले मेची कोरिडोरका लागि ल्याएको बजेट गठबन्धनको सरकारले काटिदिएको उनको भनाई छ । कानून मन्त्री हुँदा ३६ वटा कानून बनाएको अनुभव सुनाउँदै खरेलले भने संविधान लेखनमा फ्रण्टलाइनमा बसेर काम गरेको दावी गरे ।
प्रतिष्ठानमा भएको कार्यक्रममा उम्मेद्वार खरेललाई सहभागिहरुले विभिन्न विषयमा सुझाव दिएका थिए । कार्यक्रममा प्रदेश १ का पूर्व सांसद श्रीप्रसाद मैनाली, एमाले नेता डिल्लीराम घिमिरे, प्रतिष्ठानका उपाध्यक्ष मेदनीप्रसाद खरेल लगायतले बोलेका थिए ।
भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले गरेका थिए ।
Discussion about this post