
काठमाडौँ, २१ मंसिर । संघीय संसदका महासचिव डा. भरतराज गौतमले चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि राजनीतिमा तरंग उत्पन्न भएको छ ।
पहिलेको संसदले गरेको काम अर्को संसदमा नजाने तर्क गर्दै महाअभियोग निष्प्रभावी भएको पत्र आफूले दिएको बताएका छन् ।
उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भनेका छन्, ‘निर्वाचन आयोगले मतगणना सकियो भनेको छ, त्यस आधारमा भएको हो । पहिलेको संसदले गरेको काम अर्को हाउसमा जाने कुरा पनि छैन ।’ उनले आफूलाई लागे अनुसार यो निर्णय गरेको पनि बताएका छन् ।
यस सन्दर्भमा डा. गौतमसँग गरिएको संक्षिप्त कुराकानी–
आज नै किन महाअभियोग निष्प्रभावी भएको भनिएको हो ?
हिजो पत्र आयो । यस आधारमा आज निर्णय दिइएको हो ।
पहिले नै दाबी गरेका थिए, निस्प्रभावी भयो भनेर आज नै किन ?
सडकमा कुरा उठेको भरमा हुँदैन । निर्वाचन आयोगले निर्वाचनको अन्तिम परिणाम आयो भनेको छ । यसकारण आज दिन समस्या भएन ।
निर्वाचन आयोगले औपचारिक पत्र पठाएको हो र ?
आयोगले मतगणना सकियो भनेको छ नि ! त्यस आधारमा भएको हो । पहिलेको संसदले गरेको काम अर्को हाउसमा जाने कुरा पनि छैन । यसकारण निर्णय भएको हो ।
कुनै राजनीतिक दबाव आएर हो ?
हैन, सम्बन्धित व्यक्तिले माग गरेपछि नयाँ निर्वाचन भइसकेको आधारमा गरेको हो । मलाई लागे अनुसार गरेको हुँ ।
विशेष समितिले अर्को सदनले गर्छ भनेको छ, के हुन्छ ?
त्यो विषय संसदले गर्ने हो, म के जान्दछु र ।
तपाईंले निस्प्रभावी भयो भन्ने संसदले महाअभियोग अगाडि बढाउने भन्ने हुन्छ र ?
खै । संविधान नियमावलीले के भन्छ । त्यही हुन्छ ।
Discussion about this post