झापा, २१ मंसिर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक लिग सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद राखेपसँग ६ करोड बजेट माग गरेको छ ।
राखेपलाई पत्र पठाउँदै एन्फाले शहिद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ६ करोड रुपैयाँ बजेट माग गरेको हो ।
‘संघको एक्लो प्रयासबाट मात्रै लिग फुटबल प्रतियोगिता आयोजना गर्न सक्ने अवस्था छैन । उल्लेखित लिग फुटबल प्रतियोगिता आयोजना गर्न अनुमानित १८ करोड ९ लाख ४१ हजार ३०६ रुपैयाँ खर्च लाग्नेछ,’ एन्फाले पत्रमा भनेको छ, ‘यसर्थ त्यहाँ राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय र नेपाल सरकार मार्फत ए डिभिजन लिगका लागि ३ करोड, बि डिभिजन लिगका लागि २ करोड र सि डिभिजन लिगका लागि १ करोड गरी जम्मा ६ करोड रुपैयाँ वजेट व्यवस्था गरि नेपालको फुटबल खेलको विकासमा सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछु ।’
एन्फाले मेरुदण्डको रुपमा रहेको शहीद स्मारक ए, बि र सि डिभिजन लिग आयोजना गर्न ठूलो धनराशी खर्चदै आएको र सहभागी क्लबहरुको तर्फबाट पनि करोडौं रुपैयाँ लगानी हुँदै आएको तर त्यसले मात्र अपुग भएकाले रकम माग्नु परेको पत्रमा स्पष्ट पारेको छ ।
Discussion about this post