झापा, ३ बैशाख । भद्रपुर झापा गोल्डकपले उमेर समूहको झापा जिल्लास्तरीय अन्तरपालिका लिग फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
गोल्डकप कार्यसमितिको आज मेची रंगशाला चन्द्रगढीमा सम्पन्न बैठकले उमेर समूहको लिग फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय पारित गरेको छ ।
गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार भद्रपुर झापा गोल्डकपको उत्कृष्ट टिम तयार गर्ने उद्देश्यले झापा लिग सञ्चालन गर्न लागिएको हो ।
लिगमार्फत खेलाडी छनोट गरेर आयोजकको टिमबाट खेल्ने खेलाडी विशुद्ध झापाकै बनाउन लागिएको अध्यक्ष ढकालले बताए ।
महासचिव जीवनकुमार श्रेष्ठले यही असोज, कात्तिकमा लिग सुरु गर्नेगरी तयारी भइरहेको जानकारी दिए । झापामा ८ वटा नगरपालिका र ७ वटा गाउँपालिका गरी १५ पालिका छन् ।
त्यस्तै, भद्रपुरमा बाल फुटबल प्रशिक्षण परियोजना सञ्चालन गर्ने बैठकले निर्णय गरेको छ । त्यसका लागि नगरपालिका क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीलाई समूहमा विभाजन गरी कार्यक्रम गरिने गोल्डकपका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले बताए ।
पराजुलीका अनुसार १४ देखि १६ तथा १७ देखि १९ वर्ष उमेर समूहमा विद्यार्थीलाई विभाजन गरी भद्रपुर झापा गोल्डकप बाल फुटबल प्रशिक्षण कार्यक्रम यही बैशाख ९ गतेबाट सञ्चालन गरिनेछ ।
यसैबीच, बैठकले मेची रंगशालाको स्तरोन्नतिका लागि खेल मैदानको पूर्व, उत्तर–दक्षिणतर्फको भागमा पक्की प्यारापिट निर्माण तथा रात्रिकालीन खेल गर्न गराउन आवश्यक फ्लड लाइट जडानका लागि सरकारसँग बजेट माग गर्ने निर्णय गरिएको उपाध्यक्ष मनोज सुब्बाले जानकारी दिए ।
सुब्बाका अनुसार झापाका पालिका, संघीय तथा प्रदेश सरकारका विभिन्न मन्त्रालयसँग आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा बजेट तथा कार्यक्रम माग गर्ने निर्णय गरिएको छ ।
Discussion about this post