बिर्तामोड, ३ बैशाख । नेपाल उद्योग तथा व्यवसाय महासंघ बिर्तामोड नगर कमिटीको दोस्रो नगर अधिवेशनको तयारी पूरा भएको छ ।
महासंघले आइतबार बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गरी सो विषयमा जानकारी गराएको हो ।
सोमबार बिर्तामोडको अतिथि सदनमा प्रतिनिधि सभा सदस्य एवम् महासंघका अध्यक्ष लालप्रसाद साँवा (एलपी) ले अधिवेशनको उद्घाटन गर्ने तय भएको छ ।
उद्योग तथा व्यवसायको क्षेत्रमा लागेका र प्रगतिशील सोच भएका युवा लगानीकर्ताको सामुहिक नेतृत्व गर्दै व्यवसायिक हकहितका लागि आवाज उठाउने सशक्त संगठनका रुपमा महासंघलाई चिनाउनु पर्ने केन्द्रीय सदस्य अर्जुन मैनालीको भनाई छ ।
देशमा लगानीमैत्री वातावरण बनाउँदै राज्यलाई कर तिर्न उत्प्रेरित गर्दै आएको महासंघको सक्रियतामा नै बहाल पिठ्यौरी कर खारेज गर्न सफल भएको मैनालीले जानकारी गराए ।
समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नु महासंघको समेत दायित्व रहेको बताउँदै नगर कमिटी अध्यक्ष विवेक निरौलाले अधिवेशनमा वर्तमान तरलता अभाव र आर्थिक मन्दीका विषयमा गहन छलफल गरी तीनै तहका सरकार समक्ष दवाव दिने रणनीति बनाउने बताए ।
दुई वर्षे कार्यकाल रहेको नगर कमिटीको अधिवेशनले ३१ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नगर कमिटीमा अध्यक्ष १ जना, उपाध्यक्ष २ जना, सचिव १ जना, उपसचिव २ जना र कोषाध्यक्ष १ जना गरी सात सदस्यीय पदाधिकारी रहने व्यवस्था छ । पदाधिकारीमा दुईजना महिला अनिवार्य रहनेछन् ।
स्रोतका अनुसार हालका नगर कमिटी अध्यक्ष विवेक निरौला माथिल्लो कमिटीमा जान इच्छुक रहेकाले अधिवेशनले हालका पदाधिकारीहरु युवराज निरौला, गोमा भट्टराई मध्येबाट नयाँ कमिटीको अध्यक्ष चयन गर्नेछ ।
Discussion about this post