मेचीनगर, २६ बैशाख । पहिचानवादीहरुले थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरिरहेका बेला कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले घाम र जुन रहेसम्म कोशी नै नाम नरहने बताएका छन् ।
हालै विराटनगरमा पत्रकारसँगको भेटघाटमा उनले यस्तो कुरा बताएका हुन् । कोशी प्रदेश नाम नराम्रो लागे आगामी चुनावमा जितेर आएका बहुमत सदस्यले नाम शंसोधन गर्न सक्ने उनको भनाई छ ।
‘५ वर्षदेखि नाम राख्न नसकेकोले जनताले भर्खरै जिताएर पठाएका जनप्रतिनिधिले संसदमा दुईतिहाइ बहुमत सदस्यले सो नाम, नामकरण गरेको मुख्यमन्त्री कार्कीले बताए ।
उनले सरकार बनेपछि सबै पार्टीबीचमा सो नाममा एकमत नभए पनि संसदमा भएका ९१ प्रतिशत सदस्यहरुले कोशी प्रदेशको पक्षमा मतदान गरेको दावी गरे ।
‘नामकरणका विरुद्धमा भएका आन्दोलन सामान्य हो’, मुख्यमन्त्री कार्कीले भने–‘शान्तिपूर्ण आन्दोलन गर्न पाइन्छ । तर, आन्दोलनलाई हिंसात्मक बनाउन हुँदैन । कार्यक्रममा आएका शिर्ष नेताहरुलाई निरुसाहित गर्न खोज्ने, रोक्ने काम ठिक भएन ।’
यसैबीच कोशी प्रदेश नामकरणप्रति असन्तुष्टि जनाएर आन्दोलनरत संयुक्त संघर्ष समितिले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेशसभाका ८२ जना सांसद र उनीहरुको शिर्ष नेता बहिस्कार गर्ने घोषणा गरेका छन् ।
कार्यक्रम अनुसार बैशाख २६ गते झापाको दमकमा राँके जुलुस निकाल्ने, बैशाख २८ गतेदेखि कोशी नाम खारेजी जागरण अभियान अन्तर्गत जिल्ला, आमसभा, संघर्ष समिति, विस्तार तालाबन्दी, कोशी नाम हटाउने र जलाउने मेट्ने, कालो झण्डा गाड्ने र ८२ प्रदेशसभा सदस्य बहिस्कार गर्ने घोषणा गरिएको छ ।
प्रदेश १ को प्रदेशसभाले १७ फागुनमा प्रदेशको नाम कोशी राखेको थियो । तर पहिचान पक्षधर विभिन्न समूहले नामकरणप्रति असन्तुष्टि जनाउँदै आन्दोलन गर्दै आएका छन् ।
किरात याक्थुङ चुम्लुङ, नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा, नेपाल शेर्पा संघ र पहिचानसहितको प्रदेश नं १ पुनः नामांकन अभियानले प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति बनाएर आन्दोलन गर्दै आएका छन् ।
Discussion about this post