झापा, २६ बैशाख । कोशी प्रदेशको अधिकांश पहाडी जिल्लामा गाई र गोरुमा लाग्ने ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको छ ।
इलाम र झापा जिल्लामा मात्रै चार सय ६२ वटा पशु रोग सङ्क्रमणबाट मरेका छन् । इलाम, उदयपुर, धनकुटा, संखुवासभा लगायतका पहाडी जिल्लामा यसको प्रकोप फैलिरहेको कोशी प्रदेश, उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डा. दीपा दियालीले बताइन् ।
यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ । छालामा पाँच सेन्टिमिटर सम्मको गोलो गिर्खा र घाउ देखा पर्नु यसलाई चिन्ने सजिलो लक्षण हो ।
नाक र मुखबाट तरल पदार्थ काढ्ने ‘लम्पी स्किन’ बाट सङ्क्रमित पशुहरू अन्त्यमा मर्छन् । मोरङ जिल्लामा तीन वर्षअघि नेपालमा पहिलोपल्ट देखा परेको यो रोगको उत्पत्ति अफ्रिकामा १० वर्ष भएको मानिएको छ ।
क्याप्री पक्स नामक भाइरसको सङ्क्रमणबाट लाग्ने यो रोगबाट बचाउन विश्वभर खोप लगाउने प्रचलन रहेको पशु चिकित्सक डा. दियालीले बताए । नेपालमा भने निजी क्षेत्रले मात्र यो खोप बेच्ने गरेको छ ।
झापा र इलामका २७ हजार पशुमा संक्रमण
इलाम जिल्लाका दशै वटा र झापाका १५ वटै पालिकामा ‘लम्पी स्किन’ को प्रकोप देखा परिसकेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका प्रमुख शीतल भट्टराईले बताए । केन्द्रलाई झापा र इलाम दुवै जिल्ला हेर्ने जिम्मेवारी तोकिएको छ ।
उनका अनुसार इलाममा २१ हजार गाईगोरु ‘लम्पी स्किन’बाट सङ्क्रमित रहेको र तीन सय ४६ वटा गाईगोरु यही रोगबाट मरिसकेका छन् । झापामा छ हजार ४९५ वटा गाईगोरु यसबाट प्रभावित भएकोमा एक सय १६ वटा पशु मरिसकेका छन् ।
इलामको देउमाई नगरपालिका र झापाको बाह्रदशी गाउँपालिकामा सबैभन्दा बढी गाईगोरु रोगबाट प्रभावित भएको पाइएको छ । देउमाईमा १० हजार पशुमा रोग सङ्क्रमण भइसकेको र तीमध्ये दुई सय ५० वटा पशु मरिसकेको उनले जानकारी दिए ।
झापाको बाह्रदशी गाउँपालिकामा एक हजार दुई सय गाईगोरु सङ्क्रमित भएकोमा ७० वटा मरेको बताइएको छ । झापाको गौरादहमा तीन हजार, कचनकबलमा एक हजार, दमकका सात सय र शिवसताक्षीमा दुई सय वटा गाईगोरुमा ‘लम्पी स्किन’को सङ्क्रमण देखा परेको छ ।
रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन । इलाममा हालै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र झापाका तर्फबाट ‘लम्पी स्किन’बाट पशुहरूलाई जोगाउने विषयमा किसानहरूसँग सचेतनामूलक गोष्ठी गरिएको थियो ।
गोष्ठीमा रु ६० हजार मूल्य बराबरको औषधि वितरण गरिएको केन्द्रकी प्रमुख भट्टराईले जानकारी दिइन् । ‘गोठको सरसफाइ राम्ररी गर्न र रोगबाट मरेका पशुलाई सुरक्षितरूपमा छिटो गाड्ने व्यवस्था मिलाउन किसानलाई अपिल गरेका छौँ”, भट्टराईले भनिन्, ‘खोप लगाउँदा रोगबाट गाईवस्तुलाई जोगाउन सकिन्छ ।’
झापा र इलामका पशुपालक किसानहरूले ‘लम्पी स्किन’ पशुहरूलाई जोगाउन आफ्नै खर्चमा खोप लगाउन थालेका छन् । रोग लागिसकेका गाईवस्तुलाई गोठ सार्दा र बिक्रीका कारण नयाँ ठाउँमा पुग्दा ‘लम्पी स्किन’ को सङ्क्रमण टाढासम्म छिटो गतिमा फैलिरहेको पशु विज्ञहरू बताउँछन् ।
Discussion about this post