भद्रपुर, ११ जेठ । भद्रपुरका किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको छ ।
आपराधिक मनोवृत्तिका मानिसबाट हुनसक्ने आक्रमणबाट आफूलाई जोगाउन सहयोग पुगोस् भन्ने उद्देश्यले भद्रपुर नगरपालिकाका सबै वडाबाट ५–५ जनाका दरले ५० जनालाई आजदेखि आत्मरक्षा तालिम दिइएको हो ।
नगरपालिकाको वार्षिक कार्यक्रम अन्तरगत सामाजिक विकास शाखाको सहजीकरणमा मेची रंगशाला स्थित कवर्डहलमा मार्सल आर्टका व्यावसायिक प्रशिक्षकहरुद्वारा विहीबारदेखि सातदिने तालिम सुरु गरिएको सामाजिसक विकास शाखा प्रमुख जीवनकला राउतले बताइन् ।
आज विहान एक संक्षिप्त कार्यक्रमकाबीच नगरप्रमुख गणेश पोखरेलले तालिमको उद्घाटन गरे । नगर बाल सञ्जालका उपाध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा नगरप्रमुख पोखरेलले किशोरी–युवतीहरुका लागि आवश्यक र उपयोगी आत्मरक्षा सम्बन्धी तालिमले उनीहरुमा आतमविश्वास बढ्ने बताउँदै पूरा समय तालिममा सहभागी हुन र आफूले सिकेको ज्ञान आफ्ना नजिकका साथीहरुसँग पनि आदान–प्रदान गर्न आग्रह गरे ।
सामाजिक विकास शाखाकी सञ्जु कोइरालाले सञ्चालन गरेको उघाटन कार्यक्रममा ७ नं वडाध्यक्ष अभिषेक ढुंगाना, ८ नं वडाध्यक्ष गौरव सुब्बा, कार्यपालिकाको सामाजिक विकास समितिकी सदस्य ललिता ठाकुर लगायतले तालिम उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
तालिममा वरिष्ठ कराते प्रशिक्षक सौरव प्रधान र सेल्फ डिफेन्स कोच सम्झना सारु मगरले आत्मरक्षा तालिम प्रदान गर्ने र अन्य जीवन उपयोगी कक्षाहरु पनि सञ्चालन हुने राउतले जानकारी दिइन् ।
Discussion about this post