झापा, २६ भदौ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।
राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पु¥याइएको थियो ।
चिकित्सकहरुले अस्पतालमा पु¥याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।
पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए ।
२०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।
उनी जनआन्दोलन २०६२–६३ सँगै पुर्नस्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधान सभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।
Discussion about this post