झापा, २० पुस । नेपाल हृदय रोग निवारण प्रतिष्ठान झापाको अध्यक्षमा सन्तोष अग्रवाल सर्वसम्मत चयन भएका छन् ।
दुर्गापुरमा सम्पन्न प्रतिष्ठानको अधिवेशनबाट अग्रवालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
अग्रवाल रोटरी क्लब अफ बिर्तामोड मिडटाउनका संस्थापक अध्यक्ष, नेपाल चेम्बर अफ कमर्सका कोशी प्रदेश उपाध्यक्ष लगायत विभिन्न संघ–संस्थाको सफल नेतृत्व गरिसकेका सामाजिक अभियन्ता हुन् ।
प्रतिष्ठानको विधान अनुसार कार्यसमितिमा निवर्तमान अध्यक्ष कुमारमणि पोखरेल, दुईजना उपाध्यक्ष शुभकुमाई पाठक र लुवराज उप्रेती चयन भएका छन् । त्यस्तै सचिवमा उषा श्रेष्ठ, सहसचिवमा रामप्रसाद निरौला, कोषाध्यक्षमा विनोद चापागाईँ र सहकोषाध्यक्षमा ससिम पोखरेल चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा लक्षेन्द्रप्रसाद यादव, दिनेशकुमार पोखरेल, रत्ना बुढाथोकी रहेका छन् । समितिको पहिलो बैठकले डिल्लीराम मैनाली र कमलप्रसाद कोइरालालाई समेत सदस्यमा मनोनित गरी १३ सदस्य कार्यसमिति बनाइएको छ ।
समाजसेवी डिल्लीराम मैनालीको संयोजकत्वमा प्रतिष्ठानका संस्थापक अध्यक्ष डा.सीपी यादव र निवर्तमान अध्यक्ष कुमारमणी पोखरेल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नेतृत्व चयन गरेको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष डा.यादवले सुझाव सहितको शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिष्ठानका अध्यक्ष कुमारमणि पोखरेलले आफ्नो नेतृत्वमा संस्थाबाट भए गरेका विभिन्न गतिविधिका बारेमा जानकारी गराएका थिए । प्रतिष्ठानले ग्रामिण क्षेत्रका विपन्न वर्ग र समुदायमा लक्षीत गरी मुटु रोगसँग सम्बन्धित निःशुल्क स्वास्थ्य शिविर, सचेतना साथै अन्तरक्रियामुलक कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए ।
विभिन्न क्षेत्रमा भएका स्वास्थ्य शिविरबाट थप उपचार गर्नु पर्ने मुटु रोगसँग सम्बन्धित ७ जना बिरामीहरुलाई थप उपचारका लागि केन्द्रमा सिफारीस गरिएको पोखरेलले जानकारी दिए ।
प्रतिष्ठानका अध्यक्ष पोखरेलको सभापतित्वमा सम्पन्न साधारण सभाको स्वागत उपाध्यक्ष शुभकुमाई पाठकले र कार्यक्रमको सञ्चालन सचिव लुवराज उप्रेतीले गरेका थिए ।
Discussion about this post