मेचीनगर, २१ पुस । मेचीनगर–९ को वडा खेलकुद विकास समितिको आयोजनामा ‘दोस्रो वडाध्यक्ष कप’ फुटबल प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
मेचीनगर–९ स्थित खुट्टीडाँगी खेल मैदानमा भइरहेको उद्घाटन खेलमा चियावल्नी गाउँ क्षेत्रलाई खुट्टीडाँगी क्षेत्रले पराजित गरेको छ ।
जितसँगै खुट्टीडाँगी क्षेत्रले विजयी सुरुवात गरेको छ । चियावल्नी गाउँ क्षेत्रलाई खुट्टीडाँगीले १–० को अन्तरले पराजित गरेको हो ।
खेल क्षेत्रको विकाससँगै नयाँ खेलाडी उत्पादन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको हो । गत वर्षबाट वडाध्यक्ष कप खेलाइँदै आएको छ । प्रतियोगितामा ९ वटा टिमको सहभागिता रहेको छ । खेल पुस २८ गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार र दोस्रोले नगद ३० हजासहित ट्रफी तथा प्रमाणपत्र पाउने छन् । बजार सिरान क्षेत्र सह–आयोजक रहेको प्रतियोगितामा विभिन्न संघसंस्था तथा व्यक्तिले सहयोग गरेका छन् ।
प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयले १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । खेल अवधिभर ३ लाख ५० हजार खर्च हुने अनुमान गरिएको खेलकुद समितिका सचिव राजु धिमालले बताए । कार्यक्रममा मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा कविशिरोमणि मावि अध्यक्ष संगीता थापा, वडा सदस्य धनकुमार श्रेष्ठ, नेपाली कांग्रेस मेचीनगर सचिव मुकेश लिम्बू, एमाले नेतृ रेणुका डाँगी, राष्ट्रिय खेलाडी पुजन उपरकोटी लगायतको आतिथ्यता रहेको थियो ।
वडा खेलकुद विकास समितिका संयोजक राजन खड्काको अध्यक्षता एवम् स्वागत वडाध्यक्ष कञ्चन तामाङले गरेका थिए ।
Discussion about this post