काँकरभिट्टा, २१ पुस । विश्व बैंकको सहयोगमा मेचीनगरमा दुई वटा सडक कालोपत्रे बन्ने भएको छ ।
विश्व बैंकको सहयोगमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ अन्तर्गत मेचीनगरको सहिद मार्ग र सूर्योदय मार्गमा १४ किलोमिटर सडक कालोपत्रे बन्ने भएको हो ।
नगरको दुई महत्वपूर्ण सहरी क्षेत्र धुलाबारी र काँकरभिट्टाको विकासमा टेवा पुग्ने सो सडकमा विश्व बैंकको एक अर्ब ३ करोड लगानी हुने प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले बताए ।
सात प्रदेशको ३३ वटा स्थानीय तहमा ‘सहरी शासकीय सुधार तथा पूर्वाधार आयोजना’ सञ्चालन गर्ने नेपाल सरकारले निर्णय गरिसकेको छ । सो आयोजनामा नेपाल सरकारलाई विश्व बैंकले एक अर्ब ५० करोड अमेरिकी डलर (दुई खर्ब) आर्थिक सहयोग गर्ने सम्झौता भएको छ ।
सो परियोजना अन्तर्गत झापा निर्वाचन क्षेत्र नं. १ को मेचीनगरमा दुई वटा सडक कालोपत्रे गर्न विश्व बैंकले ७८ लाख अमेरिकी डलर (एक अर्ब ३ करोड) सहयोग दिएको नेपाली कांग्रेसका महामन्त्री समेत रहेका झापा–१ बाट निर्वाचित सांसद शर्माले बताए ।
उनका अनुसार सहिद मार्ग अन्तर्गत धुलाबारी मोडदेखि बजार क्षेत्र हुँदै खुट्टिडाँगीको थोप्लेबिरान सामुदायिक बनको कार्यालयसम्म ५ दशमलव ३ किलोमिटर कालोपत्रे निर्माण हुनेछ । उक्त सडकको चौडाई १२ मिटर, ड्रेन र डबल लेनको रहने छ ।
त्यस्तै, सूर्योदय मार्ग अन्तर्गत पूर्वी सीमा नाकाको काँकरभिट्टा स्थित भट्टराई चोक हुँदै बाहुनडाँगी बजार सम्मको ८ दशमलव ५ किलोमिटर लामो सडक कालोपत्रे, डबल लेन र ११ मिटर चौडाईको रहने सांसद शर्माको दावी छ ।
संघीय सरकारको निर्णय र स्थानीय तहको नेतृत्वमा ती सडक निर्माण हुने भएका छन् । विशव बैंकसँगको ती दुबै सडक २०८२ असार ३१ गते सम्ममा निर्माण सम्पन्न भइसक्नु पर्ने सम्झौतामा उल्लेख छ ।
Discussion about this post