झापा, १३ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्डलाई तत्काल रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित पक्राउ परेका प्रसाईंका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो ।
लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेको भन्दै प्रसाईका बडिगार्डका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो ।
उनीहरू दुवैलाई प्रहरीले चैत ५ गते सर्वोच्च अदालत प्रवेश गर्दैगर्दा पक्राउ गरेको थियो । उनीहरूको साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने १ सय राउण्ड गोली समेत बरामद भएको थियो ।
हतियार बोक्न पाउने लाइसेन्स खड्काको नाममा थियो । तर अदालत प्रवेश गर्दा हतियार भित्र लैजान नपाइने भएकाले अर्का बडिगार्ड धिमाललाई बोक्न दिनुलाई अन्यथा भन्न नमिल्ने अदालतले तर्क गरेको छ ।
इजाजत लिएर सर्तसहित हतियार बोकी हिंडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको आदेशमा उल्लेख छ ।
Discussion about this post