मेचीनगर, ५ बैशाख । दुईटै दाह्रा काटिएको अवस्थामा मेचीनगर–१२ स्थित कालिका सामुदायिक वनमा मृत भेटिएको हात्तीलाई गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाले बताएको छ ।
मंगलबार कालिका वनको सिमसार क्षेत्रमा दुईटै दाह्रा काटिएको अवस्थामा हात्ती मृत भेटिएको थियो ।
अन्दाजी ४५ वर्ष उमेरको वयस्क हात्तीको बुधवार पोष्टमार्टम गर्दा तीन राउन्ड गोली हानेर मारेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए ।
‘हात्तीको कानको छेउमा गोली प्रहार गरेर मारेको रहेछ,’ राईले भने,–‘हात्तीको अन्य भागमा गोली छिर्दैन, यो वन्यजन्तु शिकारी गर्ने समूहकै काम हुनुपर्छ । यसबारेमा वनले अनुसन्धान थालेको छ ।’
उनले पोष्टमार्टम गर्दा तीन वटा गोली कानको छेउबाट दुलो बनाएर शरीरभित्र छिरेको देखिएको बताए ।
‘गोली हड्डीभित्र छिरेकाले हाललाई निकाल्न सकिएन’, राईले भने–‘हात्तीको हड्डी निक्कै कडा हुन्छ । त्यसैले गोली निकाल्न समस्या भयो । गोली निकाल्न सकिएको भए शिकारीले कुन बन्दुकले मारेको हो पत्ता लाग्थ्यो ।’
Discussion about this post