इलाम, २५ बैशाख । सन्दकपुर गाउँपालिकालाई हराउँदै डिफेन्डिङ च्याम्पियन इलाम नगरपालिका दोश्रो माईजोगमाई गाउँपालिका अध्यक्षकप अन्तरपालिका आमन्त्रित पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल प्रवेश गरेको छ ।
प्रतियोगिताको उद्धघाटन खेलमा इलामले सन्दकपुरलाई सडनडेथमा हराएको हो । निर्धारित समयमा दुवै टिमले गोेल रहित बराबरी खेलेका थिए । खेलमा बराबरी भएपछि निर्णयका लागि पेनाल्टी सुटआउट रोजिएको थियो ।
पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले जित निकाल्दै इलामले अन्तिम ८ मा स्थान सुरक्षित गरेको हो । इलामको जितमा कप्तान प्रदिप बिष्ट, पासाङ शेर्पा, सविन मगर, प्रिन्स शेर्पा, नितेश गुरुङ र साङ्गे शेर्पाले गोल गरे ।
सन्दकपुरका राकेश मगर, अविशेक राई, निशान राई, मदन मगर र रोजन घलेले गोल गरे । गोलरक्षक पुजन गुरुङको प्रहार इलामका गोलरक्षक आङ्पेल शेर्पाले बचाए । खेलको म्यान अफ दि म्याच इलामका गोलरक्षक शेर्पा घोषित भए ।
जितसंगै इलामले माङसेबुङ गाउँपालिकासंग खेल्नेछ । प्रतियोगिताको दोश्रो प्रि–क्वाटरफाइनल खेलमा फाकफोकथुम गाउँपालिका र सूर्योदय नगरपालिका प्रतिस्पर्धा गर्नेछन् ।
माईजोगमाई गाउँपालिका खेलकुद विकास परिषदको आयोजनामा बालागुरु खेलमैदानमा आगामी बैशाख ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेताले २ लाख ११ हजार १ सय ११ र उपविजेताले १ लाख २१ हजार १ सय ११ रुपैया प्राप्त गर्नेछ ।
माईजोमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको अध्यक्षतामा भएको कार्यक्रममा इलाम क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महेश बस्नेत, सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत परिषदका अध्यक्ष देवेन्द्र पौडेलले र गाउँपालिका उपाध्यक्ष प्रविना राईले गरेका थिए । कार्यक्रमको सञ्चालन परिषदका सचिव महेशचन्द्र सापकोटाले गरेका थिए ।




Discussion about this post