बिर्तामोड, २० जेठ । अब बिर्तामोड स्थित बीएण्डसी टिचिङ्ग हस्पिटलले मिर्गौला पीडितका लागि निःशुल्क हेमोडायलाइसिस सेवा पनि सुरु गरेको छ ।
आज बीएण्डसी अस्पतालमा पत्रकार सम्मेलनको आयोजना गरेर हेमोडायलाइसिस सेवाका बारेमा जानकारी गराएको हो ।
अस्पतालले सरकारको विपन्न नागरिक औषधि कोष कार्यक्रम अन्तरगतको हेमोडायलाइसिस सम्बन्धी सेवा आजदेखि सुरु गरेको छ । मिर्गौलाका विरामीले लाइफटाइमसम्म डायलाइसिस गर्न सक्ने अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।
निःशुल्क सेवा लिनका लागि विरामीले स्थानीय तहको मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य शाखा प्रमुखको समितिबाट सिफारिस ल्याउनु पर्ने गिरीको भनाई छ ।
अस्पतालको ओपिडी वा इमरजेन्सीमा विरामी आएपछि चिकित्सकले आवश्यक स्वास्थ्य परिक्षण गरी मिर्गौलाको समस्या देखिएपछि फिस्टुला तयार गरेर हेमोडायलाइसिस सेवा सुरु गरिने बताएको छ ।
‘हाललाई ५ वटा मेसिनबाट उक्त सेवा प्रदान गरिने छ’, गिरीले भने–‘विरामीको चाप बढीरहेको छ । डायलाइसिस गर्दा एकजनाको समय ४ घण्टा लाग्छ । विरामीलाई समस्या नहोस् भनेर २४ औँ घण्टा सेवा दिइनेछ । एक महिनाभित्र थप २० वटा मेसिनबाट विरामीलाई सेवा प्रदान गरिनेछ ।’
विपन्न औषधि कोष कार्यक्रम अन्तरगत अस्पतालले हेड एण्ड स्पाइनल इन्जुरी, मुटु र क्यान्सरका विरामीलाई उक्त सेवा दिइरहेको छ ।
पत्रकार सम्मेलनमा डा. मुक्ति देवकोटा, फिजिसियन डा. गोपाल मिश्र, डा. राजु श्रेष्ठ लगायतले हेमोडायलाइसिस, फिस्टुला र सघन उपचार कक्षका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
जनसम्पर्क अधिकारी गिरीले अस्पतालले आगामी साउन १ गतेदेखि सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम पनि सुरु गर्ने तयारी गरेको बताए ।
पत्रकार सम्मेलनमा बीएण्डसी टिचिङ्ग हस्पिटलकी कार्यकारी निर्देशक अञ्जनी कार्की प्रसाईको पनि उपस्थिति रहेको थियो ।
Discussion about this post