झापा । सुगर रोग (मधूमेह) लाग्नुको पहिलो कारण वंशाणुगत हो ।
अध्ययनहरूले के देखाएको छ भने बाबु या आमामध्ये एक जनालाई सुगर छ भने छोराछोरीलाई सुगर हुने सम्भावना ४० प्रतिशतले बढी हुन्छ ।
जुम्ल्याहामध्ये एक जनालाई सुगर भयो भने अर्कोलाई भविष्यमा सुगर हुने सम्भावना ९० प्रतिशत हुन्छ । त्यसैले सुगर हुने पहिलो कारण वंशाणुगत नै हो ।
दोस्रो कारण मोटोपना हो । मोटोपना जति बढ्यो शरीरमा बोसोको मात्रा बढ्दै जान्छ । मोटोपना बढ्दै गएपछि इन्सुलिन हर्मोनले जति काम गर्नु पर्ने हो, त्यति काम गर्न सक्दैन । त्यसैले सुगर रोग लाग्छ ।
तेस्रो कारण खानपान हो । गुलियो खाना खाएकै कारण सुगर रोग लाग्छ भन्नु भ्रम हो । शारीरिक सक्रियता राम्रो छ । अनि परिवारमा कसैलाई सुगर छैन भने गुलियो खाना खाँदैमा सुगर हुँदैन । तर त्यो भन्दै गर्दा धेरै कार्बोहाइड्रेट र सुगर बढाउने खाना खाएमा मोटोपना बढ्दै जान्छ । जसले गर्दा सुगर पनि बढ्न जान्छ ।
चौथो कारण भने बढी तौल भएको बच्चा जन्मिनु हो । कुनै पनि बच्चा जन्मिँदा ४ किलोभन्दा बढी छ अथवा ३७ हप्ताभित्र छिटो जन्मिएको छ भने त्यस्ता बच्चालाई भविष्यमा सुगर हुने सम्भावना धेरै हुन्छ ।
पाँचौं कारण भनेको कतिपय औषधिको कारणले सुगर हुन्छ । स्टोरेड दबाइले सुगर हुने खतरा हुन्छ । यद्यपी यसलाई ठूलो कारण मानिँदैन । जुन दबाइ बाथको डाक्टरहरूले समेत दिन्छन् । धेरै दुखाइको बेलामा यो औषधिको प्रयोग हुन्छ ।
कोभिडको समयमा स्टोरेड हुने दबाइ धेरै प्रयोग भएको थियो । यस्तो औषधिले सुगर देखिएको थियो । कोलस्ट्रोलको औषधिले पनि सुगर हुने सम्भावना बढाउने पाइएको छ । यद्यपी यसलाई सुगर हुने ठूलो कारण मानिँदैन ।
सुगरबाट जोगिन आफ्नो जीवनशैलीमा परिवर्तन गर्नुपर्छ । ८ घण्टाको सुताइ पुग्नुपर्छ । आधा घण्टादेखि एक घण्टा व्यायामको लागि समय दिनुपर्छ । अलिकति पसिना आउने र मुटुको धड्कन तेज हुने गरी जे व्यायम गरे पनि हुन्छ ।
खानपनिमा ख्याल गर्नुपर्छ । बजारमा प्याक गरेको खानाहरू सकेसम्म खानु हुँदैन । सकेसम्म घरमै पाकेको खाना खानु पर्छ । घरमै खाना खाँदा समेत सन्तुलित रूपमा खानु पर्छ । खाना र तौल बाहेक परिवारमा सुगर भएकाहरूले समय समयमा सुगरको परीक्षण गर्नु पर्छ ।
सुगर रोग लाग्दैमा आत्तिनु पर्ने अवस्था छैन । सबैभन्दा पहिला सुगर रोग लागेपछि खाना र शारीरिक व्यायाममा ध्यान दिनुपर्छ । जीवनशैलीमा परिवर्तन, खानपिनमा नियन्त्रण, तौल घटाउने भन्ने हो ।
जस्तो ७० किलोको व्यक्तिले आफ्नो तौल १० प्रतिशत घटायो भने धेरै राम्रो हुन्छ । त्यसपछि पनि भएन भने औषधिको प्रयोग गर्ने हो ।
अहिले औषधि ६ किसिमका पाइन्छ । त्योमध्ये सुगरबाहेक अरू समस्या छ कि छैन भनेर औषधि दिइन्छ । योसँगै समय समयमा सुगरको परीक्षण गर्नुपर्छ ।
।। डा.सन्दिपचन्द्र श्रेष्ठ ।।
Discussion about this post