मेचीनगर, ८ साउन । प्रा. डा. जिवेन्द्र देव गिरीले स्व.विजय खरेलकाे कृतिलाई अध्ययन गरेर उनकाे याेगदानकाे अन्नतकालसम्म जीवित राख्नु पर्ने बताएका छन् ।
आज स्व. विजय खरेल स्मृति ग्रन्थ लाेकार्पण, सुसेली साहित्यिक प्रतिभा पुरस्कार र विजय खरेल रचित गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि गिरीले यस्ताे कुरा बताएका हुन् ।
´उहाँकाे १४ वटा कृति प्रकाशन भएको छ, गिरीले भने-´याे स्मृति ग्रन्थले अध्ययन गर्न सजिलाे भएको छ । स्व. खरेलकाे श्वायत पत्र बन्न सक्छ । उच्च शिक्षा हासिल गर्ने विद्यार्थीका लागि उहाँका पुस्तकहरू उपयाेगी हुन्छ ।`
उनका अनुसार साहित्यले समाजमा मानिसलाई मानिस बनाउँछ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता लीला उदासी, मेचीनगर नगरपालिकाका मेयर गाेपालचन्द्र बुढाथोकी, पत्रकार चन्द्र भण्डारी, समाजसेवी राम कट्टेल पश्चिम बंगाल विश्वविद्यालयका विभागिय प्रमुख कृष्णराज घतानी लगायतले स्व. खरेलकाे जीवनी बारे चर्चा गरेका थिए ।
सुसेली साहित्यिक परिवारका उपाध्यक्ष केन्द्रप्रसाद भट्टराईले स्व. खरेलकाे नाममा झ्याउँरे गीत प्रस्तुत गरेका थिए ।
साेहि अवसरमा स्व. खरेलकाे ५०० पेजकाे स्मृति ग्रन्थ लाेकार्पण गरिएको थियाे । स्मृति ग्रन्थका विषयमा उनका भाइ दार्जिलिङ निवासी डा.दशरथ खरेलले प्रकाश पारेका थिए ।
दार्जिलिङका कवियत्रीहरू विमला प्रधान जाेशी, भुमिका राई लगायतले कविता बाचन गरेका थिए । त्यसैगरी स्मृति ग्रन्थकाे समीक्षा साहित्यकार भुवन सुब्बाले गरेकी थिइन् ।
यस्तै स्व.खरेलले रचना गरेकाे गीत नाति साहिकिरण लम्सालले ८ मिनेटकाे प्राेजेक्टर मार्फत सार्वजनिक गरेका थिए ।
स्व. खरेलकी छाेरी जयन्ती खरेलले सुसेली साहित्यिक परिवारलाई बुबाकाे नाममा अक्षयकाेष स्थापना गर्न १ लाख रूपैयाँकाे चेक अध्यक्ष पुन्यप्रसाद खरेललाई हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बाेल्ने अधिकांश वक्ताहरू स्व. खरेलप्रति भावविह्वल बनेका थिए ।
यसवर्ष ११ हजार राशिकाे सुसेली साहित्यिक प्रतिभा पुरस्कार कलाकार केसाङ लामालाई प्रदान गरिएको छ ।
सुसेली साहित्यिक परिवारका अध्यक्ष पुन्यप्रसाद खरेलकाे अध्यक्षता, स्व. खरेलकी धर्मपत्नी पार्वती खरेल, जयन्ती खरेल, चन्दा खरेल र प्रयास खरेल कार्यक्रमकाे प्रायाेजक रहेका थिए ।
स्वागतसहित स्व. खरेलका विषयमा चर्चा प्राज्ञ एवम् सुसेली साहित्यिक परिवारकी सदस्य शुभद्रा भट्टराईले गरेकी थिइन् ।
कार्यक्रमकाे सञ्चालन सुसेली साहित्यिक परिवारका सचिव कनक कार्कीले गरेकी थिइन् ।
Discussion about this post