धुलाबारी, ११ साउन । खस्कदो शेयर बजारलाई माथि उकास्न नेपाल धितोपत्र बोर्डले विभिन्न पेशा व्यवसायका व्यक्तिहरुसँग छलफल चलाएको छ ।
आज धुलाबारी स्थित मेची उद्योग बाणिज्य संघको सभा हलमा धितोपत्र बोर्डको सहजीकरणमा धितोपत्र बजार सम्बन्धी लगानी कर्ता, शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
मेची उद्योग वाणिज्य संघ र नेपाल उद्योग बाणिज्य महासंघको समन्वयमा आयोजित कार्यक्रममा राजनीतिककर्मी, उद्योगी, ब्यवसायी, कृषि व्यवसायी, सहकारी अभियन्ता, शिक्षासेवी तथा विभिन्न संघ–संस्थाका अगुवाहरुले आ–आफ्ना धारणा राखेका थिए ।
धारणा राख्नेमा सहकारीहरुका तर्फबाट सहकारी अभियन्ता रामचन्द्र उप्रेती, संघ–संस्थाका तर्फबाट छविलाल खतिवडा लगायत रहेका थिए ।
कार्यक्रममा सहजीकरण कर्ता नेपाल धितोपत्र बोर्डका सहायक प्रबन्ध निर्देशक गणेश श्रेष्ठले धितोपत्र, वित्तीय साक्षरता लगायतका बारेमा जानकारी गराएका थिए ।
उनले नेपालमा ७० दशमलव ६ प्रतिशत साक्षरता भएपनि वित्तीय साक्षरता भने ५७ दशमलव ९ प्रतिशत मात्र रहेको दावी गरे । उनका अनुसार शेयर बजारमा बागमती प्रदेशका विभिन्न व्यापारी र व्यक्तिहरुको मात्र लगानीमा हावी रहेको छ ।
‘शेयर लगानी गर्दाको फाइदाका विषयमा नागरिकलाई कम जानकारी छ’, श्रेष्ठले भने –‘बागमतीपछि कोशी प्रदेशका नागरिकले थोरै भएपनि शेयरमा लगानी गरिरहेका छन् । प्रदेशका धेरै जिल्लाका नागरिकहरु शेयर बजार बारे अनविज्ञ छन् । निश्चित मापदण्ड पुरा गरे बैँकमा ऋण लिएको व्याज भन्दा शेयर कारोवार गरे फाइदा हुनेछ ।’
उनले वित्तीय साक्षरताको संख्या बढाएर घर सञ्चालनको क्रममा ब्यक्तिले बजेट बनाएर वार्षिक कार्यक्रम सञ्चालन गर्न सके हरेक परिवारले समृद्धि हासिल गर्न सक्ने बताए ।
समन्वय कर्ता नेपाल उद्योण वाणिज्य महासंघका केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्काले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव दिनेश शाक्यले गरेका थिए ।
Discussion about this post