झापा, ४ भदौ । बिर्तामोड नगर अस्पतालमा नर्मल डेलीभरी (प्रसूती) गराउनेको संख्या बढ्न थालेको छ ।
अस्पतालप्रति सेवाग्राहीको विश्वसनियता बढेसंगै प्रसुती गराउनेको संख्या पनि थपिदै गएको हो ।
गत आर्थिक वर्ष २०८०÷८१ मा ७० जना र चालु आर्थिक वर्षको साउन यता १३ जना गरी ८३ जनाले नर्मल डेलिभरी सेवा लिएको अस्पतालकी सिनियर अनमी निरीक्षक दिपा श्रेष्ठले जानकारी दिइन् ।
उनका अनुसार साउनमा १० जना र भदौमा ३ जनाले सेवा लिएका हुन् । नगर अस्पतालमा प्रसुती हुनेहरुका लागि न्यानो झोलासमेत प्रदान गरिदै आएको छ । झोलामा बच्चाको भोटो, टोपी, दौरा सुरुवाल दुई–दुई थान, युरिन म्याट र आमालाई लुगा (म्याक्सी) एक–एक थान उपलव्ध हुन्छ ।
नगर अस्पतालले प्रसुती सेवा लिनेहरुलाई एक हजार र सरकारी अस्पताल वा स्वास्थ्य केन्द्रमा नियमित गर्भवती जाँच (एएनसी) गराउनेहरुको लागि ८ सय रुपैयाँ थप गरी १८ सय रुपैयाँ प्रदान गर्दै आएको छ ।
अस्पतालले नर्मल डेलीभरी सेवालाई २४ सै घण्टा उपलव्ध गराएको छ । यसका लागि ८ जना स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ ।
नगर अस्पतालमा फिजिसियन, वालरोग, मनोरोग, वाथरोग, स्त्री तथा प्रसूति रोग, हार्डजोर्नी तथा नशा रोग लगायत विभिन्न रोगका विशेषज्ञहरुको सेवा उपलव्ध रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सुनिल अधिकारीले जानकारी दिए । अस्पतालमा केहि दिन अघिमात्रै २ जना मेडिकल अधिकृत थप गरिएको छ ।
अस्पताललाई सुविधा सम्पन्न बनाउनका लागि भवन निर्माणसंगै विभिन्न प्रकारका सेवा थप गर्ने र भएकालाई अझै व्यवस्थित गर्ने कार्य भईरहेको बिर्तामोड नगरपालिकी मेयर पवित्रा महतारा प्रसाईले बताइन् ।
Discussion about this post