झापा, ४ असोज । यस वर्षको दशैंको टीकाको उत्तम साइत असोज २६ गते विहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।
२०८१ सालको दशैं असोज १७ गतेदेखि सुरु हुन्छ । असोज १७ गते घटस्थापना हो । विहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज सार्वजनिक गरेको हो ।
असोज १८ गते झण्डा फेर्ने साइत छ । यस दिन विहान ९ बजेर १४ मिनेटमा पश्चिम फर्किएर झण्डा फेर्नुपर्ने समितिले जनाएको छ ।
असोज २२ गते पचलीभैरव यात्रा र २४ गते फूलपाती छ । फूलपाती भित्राउने शुभसाइत विहान ७ बजेर ११ मिनेटमा छ । स्थिरासन विहान ८ बजेर ४३ मिनेटमा छ । यसै दिनलाई तुलजाभवानी यात्रा पनि भनिन्छ ।
असोज २४ गते फूलपातीको दिनदेखि सरकारी कार्यालयहरुमा दशैंको सार्वजनिक बिदा सुरु हुने भएकाले दशैंको चहलपहल बढ्ने गर्दछ । असोज २५ गते महाअष्टमी, कालरात्री र महानवमी एकै दिन परेको छ ।
यस्तै असोज २६ गते दशैंको मुख्य दिन टीका हो । यस दिन विहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जनको साइत छ । देवी विसर्जन गरिसकेपछि मान्यजनबाट टीका जमरा ग्रहण गरिन्छ । टीका लगाउने उत्तम साइत ११ बजेर ३६ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीले बताए ।
असोज ३० गते बुधवार कोजाग्रत पूर्णिमा छ । कोजाग्रत पूर्णिमादेखि दशैंलाई बिदा गरिन्छ ।
Discussion about this post