धुलाबारी, १० असोज । नेपाल जेसीज वर्ष २०२४ को धुलाबारीमा भोलिदेखि हुन लागेको क्षेत्र ‘क’ सम्मेलनको तयारी पूरा भएको छ ।
मेचीनगर–१०, धुलाबारी स्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठान टाउन हलमा शुक्रबारदेखि हुन लागेको नेपाल जेसीज वर्ष २०२४ को क्षेत्र ‘क’ सम्मेलनको तयारी पूरा भएको हो ।
क्षेत्र ‘क’ सम्मेलन आयोजक समितिका निर्देशक एवम् धुलाबारी जेसीज वर्ष २०१३ का अध्यक्ष अनन्तप्रकाश वस्तीले असोज ११ र १२ गते भव्य र सव्यरुपमा सम्पन्न गर्न तयारी पूरा भएको जानकारी दिए ।
उद्घाटन मन्त्री कार्कीले गर्ने
शुक्रबार ११ वजे हुने उद्घाटन कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले गर्ने भएको उनले बताए ।
क्षेत्र ‘क’ का ४३ वटा शाखा, जुजियर जेसीज १६ वटा, देशभर तथा नेपाल जेसीजका पदाधिकारीसहित करिव ६०० जना जेसीहरुको सहभागिता रहनेछ ।
पहिलो दिन उद्घाटन कार्यक्रमपछि थिम सेमिनार (विभिन्न क्षेत्रका व्यक्तिहरु वक्ता हुने), जेनेरल एसेम्ली, सिनेटर वैठक, जुनियर जेसीजको वैठक, अन्तर शाखा वक्तृत्वकला र जेसीज नाइट हुनेछ ।
यस्तै दोस्रो दिनका कार्यक्रमहरुमा तालिम, जेनेरल एसेम्ली, नेपाल जेसीजको अवार्ड वितरण, समापन र विभिन्न क्षेत्रका १७ वटा उपसमिति निर्माण हुने बाहुनडाँगी जेसीजका अध्यक्ष एवम् सम्मेलनका प्रचारप्रसार समिति संयोजक देबु बानियाँले बताए ।
सम्मेलनमा मेचीनगर लेडी जेसीज भाग लिन नपाउने
क्षेत्र ‘क’ का ४३ वटा शाखा मध्ये मेचीनगर लेडी जेसीज शाखाले भाग लिन नपाउने भएको छ । यसअघि उक्त सम्मेलन गर्न नेपाल जेसीजले मेचीनगर लेडी जेसीजलाई पत्र पठाएको थियो । तर, विभिन्न कारणवश लेडी जेसीजले सम्मेलन गर्न असमर्थ जनाएपछि धुलाबारी जेसीजले अपनत्व लिएको थियो ।
श्रोतका अनुसार १८ दिनअघि नेपाल जेसीजले क्षेत्र ‘क’ सम्मेलन र कुनै पनि राष्ट्रिय सम्मेलनमा भाग लिन नपाउने गरिको मेचीनगर लेडी जेसीजलाई पत्र पठाएको छ ।
Discussion about this post