मेचीनगर, २३ कात्तिक । पशुपति माविका शिक्षक नविन सुवेदीको निधनका कारण मेचीनगर नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा सोमबारका लागि शोक बिदा दिइएको छ ।
मेचीनगर–४ बाहुनडाँगी स्थित पशुपति माविका शिक्षक नविन सुवेदीको निधनका कारण नगरपालिका अन्तरगतको शिक्षा शाखाले शोक बिदा दिइएको हो ।
सोमबार विद्यालयमा शोक सभा आयोजना गरी श्रद्धाञ्जली सभामा सहभागी बन्न शाखाका प्रमुख एवम् उपसचिव होमनाथ भण्डारीले आज सूचना मार्फत जानकारी गराएका हुन् ।
मेचीनगर–१०, धुलाबारी स्थित खनाल बस्तीका ५४ वर्षीय सुवेदीको गत शनिबार उपचारकै क्रममा बिराटनगर स्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो ।
मधुमेह र उच्च रक्तचापको समस्या रहेका सुवेदीको मस्तिष्क घातबाट निधन भएको विद्यालय स्रोतले जनाएको छ । उनका श्रीमती र दुई छोराहरु रहेको पारिवारले जनाएको छ ।
सुवेदी दुई दशकदेखि प्रावि तृतीय श्रेणी स्थायी शिक्षकको रुपमा पशुपति माविमा कार्यरत थिए ।
Discussion about this post