झापा, २१ पुस । भद्रपुरमा आगामी माघ पहिलो हप्तादेखि ‘झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव’ हुने भएको छ ।
झापा उद्योग वाणिज्य संघले भद्रपुर–८ स्थित मेची रंगशालामा आगामी माघ ७ गतेदेखि २१ गतेसम्म उक्त महोत्सव लगाउने भएको हो ।
गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि आर्थिक अवस्था खस्किएको, उद्योगी–व्यवसायीको मनोबल घटेको, घटेको मनोबललाई नयाँ उर्जा भर्न पनि महोत्सवले कोशेढुंगा सावित गर्ने लक्ष्य आयोजकको छ ।
महोत्सवमा करिव दश करोको कारोवार र एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उदेश्यसहित घरेलु, कृषि, पर्यटन तथा अन्तराष्ट्रिय वस्तुहरुको सेवाका लागि करिव एकसय वटा स्टल रहने छ ।
सुस्ताउँदै गएको भद्रपुर बजारलाई चलायमान गराउने, झापाको उद्योग–व्यवसायलाई थप गति प्रदान गर्ने एवम् झापाका पर्यटकीय क्षेत्रहरुको थप प्रवद्र्धन गर्ने सोच पनि रहेको आर्थिक संकलन तथा व्यवस्थापन समिति संयोजक आदित्य पराजुलीको भनाई छ ।
यसअघि पनी आयोजक संघले २०७३ फागुनमा दश दिनसम्म ‘प्रथम पूर्वाञ्चल क्षेत्रिय औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव’ सफलता पूर्वक सम्पन्न गरेको थियो ।
व्यापार तथा औद्योगिकीकरणलाई प्रर्वद्धन गर्न, उद्यमीहरुको अधिकार र हितको सुरक्षा गर्न, बलियो र स्वतन्त्र अर्थतन्त्र निर्माण गर्न महोत्सवले सार्थक बनाउनेमा आशावादी रहेको झापा उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष राजकुमार राईको दावी छ ।
२०१६ सालमा मिल्स मर्चेन्ट एशोसिएशनको नामबाट सुरु भएको संस्था त्यसपछि झापा उद्योग वाणिज्य संघको रुपमा स्थापित रहेको छ ।
यस क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी, पर्यटन क्षेत्रको प्रवर्द्धनमा महोत्सवले टेवा पुग्ने विश्वास लिएको आयोजकको भनाई छ ।
भद्रपुर नगरपालिका, जनप्रतिनिधिहरु, राजनीतिक दलका प्रतिनिधि, झापाका उद्योगी–व्यवसायी, विभिन्न सामाजिक संघ–संस्थाहरुको सहकार्य र समन्वय भूमिका रहेको पराजुलीले बताए ।




Discussion about this post