मेचीनगर, २४ पुस । मेचीनगर नगरपालिकाको दोस्रो नगरसभाको आठौं वैठक सम्पन्न भएको छ ।
विहीबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको अध्यक्षतामा अर्ध बार्षिक समीक्षा सभा सम्पन्न भएको हो ।
सभामा उपप्रमुख मीना पोखरेल उप्रेतीले आ.व.२०८२÷८३ को एक अर्ब ९० करोड बढीको बजेटसहित विभिन्न नीति तथा कार्यक्रमका शिर्षकहरुमा भएका प्रगति विवरणहरु प्रस्तुत गरेकी थिइन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दुई महिना नगरपालिका कार्यालय समस्यामा परेकाले विभिन्न योजना लगायतका कामहरुलाई निरन्तरता दिन नसकिएको उनको भनाई छ ।
प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले जेनजी आन्दोलनपछि अन्य पालिकामा संयुक्त वडाबाट काम भइरहेका छन् तर मेचीनगरमा सबै वडाबाट सेवा प्रदान गरिरहेको बताए ।
उनले कर्मचारी व्यवस्थापनका लागि अब बैशाखदेखि लोकसेवा आयोगबाट नियुक्त भएर फ्रेस कर्मचारीहरु आउने बताए । उनका अनुसार ज्यालादारी, करारका अस्थायी कर्मचारीहरु स्वत हट्नु पर्नेछ ।
नगरप्रमुख बुढाथोकीले २०४८ साल यता मेचीनगरमा इतिहासमा नै पहिलो पटक केन्द्र र प्रदेश सरकारबाट विभिन्न शिर्षकको योजनामा करिव ६० करोडको बजेट ल्याएको दावी गरे ।
उनले २०७४ सालपछि यो बजेट ल्याउन सफल भइयो तर, गत भदौ २३ र २४ गतेको कुर आतंककारी घटनापछि करिव ३२ करोड बजेट रोकिएको बताए ।
नीतिगत निर्णय, भावी योजना र कार्यक्रमका बारेमा उनले जानकारी गराएका थिए । ‘बजेटको सीमितता छ, माग बढी छ’, बुढाथोकीले भने–‘तर पनि कामको आधारमा बर्षैपिछे योजनाहरु फरकफारक गर्दै जाने छौं । विगतमा जस्तो अल्या र बेरुजु नहुने गरी अब थोरै काम गर्ने राम्रो गर्ने गरी अघि बढिरहेका छौं ।’
नगरप्रमुख बुढाथोकीले राष्ट्रिय आवास कम्पनीसँगको जग्गाको समस्या अन्तिम किनारामा पुर्याउने गरी छलफल हुने बताएका छन् ।
ज्यामिरगढीको झोलेङ पुल, अन्य झोलेङ पुललाई केन्द्रमा पहल गरिने, नगरमा शवदाह गृह निर्माण गरिने, हात्तीबाट मानविय क्षति हुन नदिन बीमाको व्यवस्था, एउटा वडाबाट भएपनि अनलाइनबाट भुक्तानी लगायतका सेवा, सीप विकास केन्द्र परिसरमा अटिजमको भवन बनाउने, यसै वर्षदेखि योजना छानेर बहुवर्षिय सडक बनाउने गरीको तयारी गरिने छ ।
नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले राखेका प्रस्तावहरुमाथि ८ का वडाध्यक्ष गिरीराज धमला, वडा सदस्यहरु हरिनारायण न्यौपाने, रञ्जिता नेपाली, श्याम शिवाकोटी, विष्णु भट्टराई लगायतले सुझावसहित धारणा राखेका थिए ।




Discussion about this post