मेचीनगर, २४ पुस । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले विद्यार्थीहरुलाई शिक्षामा पहुँच पुर्याउन अभिभावकहरुको घर–घरमा पुगेर छलफल गरिने बताएका छन् ।
विहीबार आदर्श मावि ईटाभट्टाको ५८ औं बार्षिकोत्सव तथा खेलकुद प्रतियोगिताको सप्ताह समारोह कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले चाँडै नै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँग छलफल गरेर अभिभावकहरुको घर–घरमा जाने योजना रहेको बताएका हुन् ।
‘विद्यार्थीहरुको विद्यालय दुई वटा हुन्छ’, बुढाथोकीले भने–‘एउटा घरमा सिक्ने विद्यालय भने अर्को बाहिर शिक्षकहरुले पढाउने विद्यालय । एउटा विद्यालयको मात्र भर पर्नु हुन्न । विद्यार्थी र विद्यालयको शैशिकस्तर सुधार्न अभिभावकहरुको पनि ठुलो हात हुन्छ । अनुसाशन निजी विद्यालयमा हुने सामुदायिक विद्यालयमा नहुने भन्ने कुरा पटकै हुँदैन ।’
उनले संघीय सरकारले शिक्षा नीति नल्याएका कारण स्थानीय तहमा शिक्षा ऐन कार्यान्वयन गर्न गारो भएको बताए । उनका अनुसार केन्द्रबाट बजेट नआएपनि स्थानीय सरकारले शिक्षा नियमावली बनाएको छ । यसको कार्यविधि बनाएर अब छिटै कार्यान्वयनमा ल्याउने छौं ।
कार्यक्रममा उपप्रमुख मीना पोखरेल उप्रेतीले नगरका ४६ वटा सामुदायिक विद्यालयहरुलाई प्राथमिकताका आधार राखेर भौतिक पूर्वाधार लगायतका योजनाहरु अघि बढाउने बताइन् ।
बार्षिकोत्सवको अवसरमा विद्यालयलाई जग्गा दिने दाता, २०८१ सालको एसइइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु, खेलकुद प्रतियोगिताका विजेता विद्यार्थी लगायतलाई पुरस्कृतसहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थी र शिक्षकहरुले नाटक, गीत, नित्य, कविता, मुक्तक लगायतका क्रियाकलापमा सहभागी भएका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक जीआर धितालले गरेका थिए ।




Discussion about this post