अर्जुनधारा, २३ मंसिर । अर्जुनधारा नगरपालिका–९ स्थित नमुना सामुदायिक वनको परिसरमा निर्मित राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको पूण कदको शालिकको अनावरण हुने भएको छ ।
यस अघि वि.सं. २०७६ चैत १६ गते र वि.सं. २०७७ साल बैशाख २६ गते शालिकको अनावरणको कार्यक्रम तोकिए पनि कोभिड–१९ को संक्रमणका कारण स्थगित भएको थियो ।
दुईपटकसम्म स्थगित गरिएको शालिकको अनावरण यही मंसिर २६ गते किराँत धर्मगुरु आत्मानन्द लिङ्देनले गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
फाल्गुनन्द स्मृति प्रतिष्ठानले वि.सं. २०७४ सालमा नेपाल सरकारको २० लाख साविक जिल्ला विकास समितिको पाँच लाख र विभिन्न दाताहरुबाट सङ्कलन भएको २५ लाख गरी कूल ५० लाखमा लिङ्देनको शालिकसँगै माङहिम (किराँत धर्मालम्बीहरुको मूल मन्दिर), धुनी कुण्ड, पुजारी आश्रम, गेट र शौचालय निर्माण गरिएको छ ।
प्रतिष्ठानका उपाध्यक्ष भूपेन्द्र न्यौपानेले सो क्षेत्रमा बहुधार्मिक पर्यटकीय स्थलको पहिचान बनाउने उद्देश्यले छ कठ्ठा जमिनमा सो संरचना निर्माण गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनले राष्ट्रिय विभूति लिङ्देनको शालिक एउटै ढुंगालाई कुँदेर मञ्जुल मितेर कला केन्द्र मोरङ उर्लाबारीका मूर्तिकार भक्त राईले तयार पारेको बताए । लिङ्देनको छ फिट उचाइ रहेको शालिक निर्माणमा मात्र १० लाख खर्च भएको उनको भनाई छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेती, किराँत धर्मगुरु आत्मानन्द लिङ्देन आउने कार्यक्रमलाई सफल पार्नका लागि प्रतिष्ठानले सातवटा उपसमितिहरु गठन गरेको छ ।
उपसमितिहरुको संयोजकमा प्रचारप्रसार तथा स्वमंसेवक परिचालन लवकुश गौतम, अतिथि एवम् दानवीर दाता सत्कार शेरबहादुर इङनाम, खाद्यन्न व्यवास्थापन तिलकसिंह लिम्बू, पूजा सामग्री तथा प्रसाद व्यवस्थापन फिपराज कुरुम्वाङ, कार्यक्रम स्थल व्यवस्थापन मोहन सुब्बा, अनुगमन उपसमिति संयोजकमा लक्ष्मी इङनामलाई चयन गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
देशकै नमूना प्रतिष्ठानको रुपमा विकास गर्ने लक्ष्य लिएको माङहिमको गुरुयोजना तयार गरी फाल्गुनन्द बाटिका निमार्ण गर्ने, नेपाली भाषा, साहित्य, सांस्कृतिको पुस्तकालय तथा अध्ययन केन्द्र निर्माण गर्नेलगायतका योजनाहरु रहेको कार्यक्रम प्रतिष्ठानका सचिव लवकुश गौतमले बताए ।
कार्यक्रम स्थल तथा व्यवस्थापन उपसमितिका संयोजक मोहन सुब्बाले सो क्षेत्रमा हिन्दूहरुको शिवालय, प्रकृति पूजक मगरहरु, चौधरीलगायत विभिन्न जातजातका धार्मिक स्थल रहेको बताए ।
Discussion about this post