मेचीनगर, २८ फागुन । मेचीनगर–१५, ज्यामिरगढी स्थित लालझोडा टोल विकासमा सञ्चालित भगवती लेमिनेट्स उद्योगमा लागेको आगो अझै नियन्त्रणमा नआएको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेटर) रोहित शर्माले अहिलेसम्म आगो नियन्त्रणमा नआएको बताएका हुन् ।
उनका अनुसार उद्योगको पूर्व, उत्तर, पश्चिमतिर लागेको आगो नियन्त्रणमा आइसकेको छ । तर, दक्षिणतिरको आगो अझै नियन्त्रणमा आएको छैन ।
विहान उद्योगमा लागेको आगो निभाउन मोरङ, इलाम र झापाका १० वटा दमकल आएका थिए । अहिले पनि ५ वटा दमकलले आगो निभाउने प्रयास गरिरहेको शर्माले जानकारी दिए । आज रातभरि सम्ममा पनि आगो नियन्त्रणमा आउन मुस्किल रहेको प्रहरीको भनाई छ ।
भगवती लेमिनेट्स उद्योगका सञ्चालक रजनिश अग्रवालले उद्योगका भौतिक संरचना बाहेक भित्र रहेका सबै मेसिन र कच्चा पदार्थहरु जलेर नष्ट भएको बताए । क्षतिको विवरण आउन समय लाग्ने उनले बताए ।
सोमबार विहान ५ वजेदेखि उद्योगमा लागेको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । भोलि विहान उद्योगका केहि भौतिक संरचना भत्काएर भएपनि आगो नियनत्रण गरिने प्रहरीले बताएको छ ।
उद्योगमा आगलागी हुँदा दिउँसो संघीय सांसद विश्वप्रकाश शर्मा, मेचीनगर नगरपालिकाका मेयर गोपाल चन्द्र बुढाथोकी लगायत जनप्रतिनिधिहरुले स्थलगत निरीक्षण गरेका थिए ।
आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीहरुले सहयोग गरेका थिए ।
Discussion about this post